• मंसिर १३ २०८१, बिहीबार

पुण्य गौतमलाई रड प्रहार गर्ने दुर्गा प्रसाईंका २ जना कमाण्डर पक्राउ

आश्विन २४ २०८१, बिहीबार

असोज २४ । पुण्य गौतममाथि रड प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बेशीगाउँस्थित सडकमा ४६ वर्षीय पुण्य गौतममाथि रड प्रहार गरी घाइते बनाएका थिए । घाइते बनाएर फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रे तेमाल घर भई भक्तपुरको च्यामासिंह बस्ने ३० वर्षीय टासी लामा भन्ने संजिव तामाङ र रसुवा घर भई गोकर्णेश्वर नगरपालिका–४ बस्ने ४१ वर्षीय मिलन भन्ने दिलबहादुर गङदान छन् । संजिवलाई प्रहरीले मंगलबार र दिलबहादुरलाई बुधबार पक्राउ गरेको हो ।

उनीहरूबाट प्रहरीले एउटा रड र तीन वटा मोबाइल पनि बरामद गरेको छ । एसपी अधिकारीका अनुसार उनीहरूमाथि ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान अघि बढाएको छ ।

पक्राउ परेका दिलबहादुर गङदाङ मुख्य योजनाकार हुन् । उनी मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियान अन्तर्गत नागरिक प्रतिरक्षा बलका संयोजक समेत हुन् । रड प्रहार गर्नुको कारण भने खुलिसकेको छैन ।