२२ असोज । माओवादी केन्द्रले आसन्न स्थानीय तहको उपचुनावमा सत्तारुढ बाहेकका वाम दलहरुसँग सहकार्यको प्रयास गर्ने भएको छ ।
मााओवादी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव देव गुरुङले सोमबार जारी गरेको परिपत्रमा सत्तारुढ दल बाहेकका वाम तथा देशभक्त दलहरुसँग सहकार्यको प्रयास अगाडि बढाउन पहल गर्ने उल्लेख छ । स्थानीय तहका रिक्त ३४ पदमा यही मंसिर १६ गते उपनिर्वाचन हुने तय भएको छ ।
माओवादीले उम्मेदवार छनोटको विधिसमेत तोकेको छ । वडाध्यक्षको उम्मेदवार छनोट गर्दा वडा सदस्यहरुको भेला गरेर सहमति खोज्नुपर्ने, नभए बहुमतबाट निर्णय गरेर पालिका समितिमा सिफारिस गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।
पालिका प्रमुख, उपप्रमुख पदको उम्मेदवार छनोट गर्दा भने सबै वडाका प्रतिनिधि र पालिका समितिको बैठक बसेर सहमति वा बहुमतीय प्रणालीबाट छनोट गर्नुपर्ने परिपत्रमा उल्लेख छ । पालिका समितिले २५ कात्तिकभित्र प्रदेश र केन्द्रमा पठाउनु पर्नेछ ।