• मंसिर १४ २०८१, शुक्रबार

इजराइलमा हमासको आक्रमण हुँदा नेपाललाई ठूलो क्षति पुग्यो : नेता साउद

आश्विन २१ २०८१, सोमबार

काठमाडौँ, २१ असोज । नेपाली कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमास समूहले गरेको आक्रमणमा नेपाललाई ठूलो क्षति पुगेको बताए छन् । प्यालेस्टाइनको हमास समूहले इजरायलमा आक्रमण गरेको एक वर्ष पुगेको दिनको सम्झनामा सोमबार इजरायली दूतावासले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा पूर्वमन्त्री साउदले बन्दी बनाइएका विपिन जोशीसहित सबैलाई रिहाई गर्नुपर्ने बताए ।

उक्त आक्रमणमा परी ‘अध्ययन र आर्जन सँगसँगै’ कार्यक्रमअन्तर्गत गएका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । आक्रमणकै दिन हमासले अपहरण गरी बन्धक बनाएका कञ्चनपुरका विद्यार्थी जोशी अझै पनि बेपत्ता रहेको उल्लेख गर्दै नेता साउदले आक्रमणको घाउ पुरिन बाँकी रहेको बताउनुभयो । विसं २०८० असोज २१ गते इजरायलमा हमास समूहले आक्रमण गर्दा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । जोशीलाई भने हमास समूहले अपहरण गरी बन्धक बनाएको भिडियो इजरायली सेनाले सार्वजनिक गरेको भए पनि अझैसम्म पनि उनलाई फर्काउन सकिएको छैन ।

आक्रमणमा एक हजारभन्दा बढी मानिसको ज्यान गएको थियो । आक्रमणमा परी थुप्रै घाइते र अपाङ्ग भएका थिए । तत्कालीन परराष्ट्रमन्त्री साउद इजरायल पुगेर नेपाली नागरिकको उद्धार गरी स्वदेश ल्याउनुभएको थियोे । “यो भयावह घटनाको सामना गर्दै त्यतिबेला चुनौतीपूर्ण र पीडादायी अवस्थामा काम गर्नु परेको थियो । इजरायल सरकारको सहयोगमा नेपाली नागरिकको सुरक्षित उद्धार र मृतकको शव नेपाल ल्याउन सकियो,” पूर्वपरराष्ट्रमन्त्री साउदले भने, “घाइते विद्यार्थीको इजरायलमै उपचार भएको थियो ।”