• मंसिर १३ २०८१, बिहीबार

वैदेशिक रोजगारीको सहउत्पादन : शव बोक्ने व्यवसाय

आश्विन २१ २०८१, सोमबार

२१ असोज, काठमाडौं । २०७० सालतिर एउटा गाडी किनेर काठमाडौं बूढानीलकण्ठका सूर्य स्याङ्तान फाट्टफुट्ट सामान बोक्ने काम गर्दै आएका थिए । जेनतेन पेशा चलेकै थियो । तर, सरकारी सामान ओसारपसार गर्ने काम मिले सजिलो हुने र नियमित आम्दानी पनि हुन्छ भन्ने सुनेकाले उनी बेलाबखत पत्रपत्रिकातिर आँखा पनि डुलाइरहन्थे । एकदिन तामाङको आँखा वैदेशिक रोजगार बोर्डले निकालेको एउटा विज्ञापनमा र्पयो । बोर्डले ‘विदेशबाट आउने शव ढुवानीका लागि आवेदन दिन’ सूचना निकालेको थियो ।

तामाङले पनि ‘बुद्धछाप ढुवानी सेवा’ दर्ता गरे र तुरुन्तै आवेदन दिए । ‘अलिक अनौठै काम लाग्यो । तर पनि निवेदन हालें । जीवनमा यसरी शव बोक्दै हिंड्नुपर्ला भन्ने त लागेको थिएन’ तामाङले अनलाइनखबरसँग भने, ‘तर टेन्डर नै परेपछि सम्झौता गरेर काम गर्न थालियो ।’ उनको ‘बुद्धछाप ढुवानी सेवा’ले २०७२ सालमा पहिलो पटक विदेशबाट आएको शव बोकेको हो । ‘त्यसयता त कति बोकियो, बोकियो नि १ यस्सो सामान्य हिसाब गर्दा मात्रै पनि एकहजार भन्दा बढी शव हाम्रो कम्पनीले बोकेछ’, उनी भन्छन् ।

यसरी शव बोक्न काम पाउन पनि सजिलो छैन । वैदेशिक रोजगार बोर्डले वर्षेनि नयाँ टेन्डर आह्वान गरेर विदेशबाट नेपाल भित्रिने शव सम्बन्धित व्यक्तिका घरसम्म पुर्याउने सेवा दिंदै आएको छ । पछिल्लो वर्ष ४ वटा कम्पनीले शव ढुवानीको काम गर्दै आएका छन् । त्यसमध्ये तामाङको ‘बुद्धछाप ढुवानी सेवा’ पुरानो र अनुभवी कम्पनीका रूपमा दरिइसकेको छ । ‘हेर्दा गाडीमा शव बोकेर घरमा र्पुयाइदिने काम त हो नि भन्ने हुन्छ । तर, यो एकदमै झन्झटिलो काम हो ।

बोर्डले जिम्मा लगाएपछि परिवारको जिम्मा नलगाउँदासम्म घामपानी भन्न पाइन्न’ स्याङ्तान भन्छन, ‘त्यसमाथि लाश बोक्ने गाडीमा काम गर्ने मान्छे पाउन पनि गाह्रो छ । हम्मेसी कसैले यो काम गर्न आँट पनि गर्दैनन् ।’स्याङ्तानसँग अहिले मालसामान ओसारपसार गर्ने समेत गरेर ६ वटा गाडी छन् । ‘पूरा व्यवसाय नै यही हो त भन्दिनँ । तर, आफ्नो सम्झौता अनुसारको जिल्लाका मान्छेको घटना घट्यो भने पार्टटाइम जस्तो यो काम गरिरहेका छौं’ स्याङ्तान भन्छन्, ‘पहिले पहिले अर्कै कुरा थियो । तर, अहिले त शव बोक्दाबोक्दै सामान्य जस्तै भइसक्यो ।’