• बैशाख २४ २०८३, बिहीबार

राष्ट्रिय जनमुक्ति पार्टीको ३६औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाइयो

बैशाख २४ २०८३, बिहीबार

काठमाडाैं । राष्ट्रिय जनमुक्ति पार्टीको ३६औँ स्थापना दिवसको अवसरमा विविध कार्यक्रम गरी भब्य रुपमा मनाइएको छ । पार्टीको स्थापना दिवस देश तथा विदेशमा रहेका जनमुक्ति पार्टीका नेता तथा कार्यकर्ताले भब्य रुपमा मनाएका हुन् ।

पार्टीको स्थापना दिवस मनाउन केन्द्रीय अध्यक्ष केशव सूर्यवंशी नवलपरासीको बर्दघाट पुगेका थिए । उनले स्थापना दिवसको अवसर पारेर कार्यक्रममा सहभागीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

उनले जनमुक्ति पार्टीको ३६औं स्थापना दिवसलाई स्मरण गर्दै पार्टीलाई यहाँसम्म ल्याई पुराउने सम्पूर्ण अग्रज नेताहरुलाई धन्यवाद दिंदै पार्टीको उद्देश्य पुरा गर्न सम्पूर्ण जनमुक्ति प्रेमीहरु एकजुट भएर अघि बढ्नु पर्ने धारणा राखे । अध्यक्ष सूर्यवंशीले भने,‘जनमुक्ति पार्टी नेपाली जनताको आफै पार्टी हो, देश विकास र जनतालाई हकअधिकार दिन यो पार्टी बाहेक अन्य पार्टी छैनन् ।’

उनले देशको वर्तमान राजनीतिक अवस्थाको व्याख्या गर्दै अहिले पनि निमुखा जनताले न्याय र हक अधिकार नपाएको भन्दै अब जनमुक्ति पार्टीका नेता तथा कार्यकर्ताहरु जनताको घर घर पुगी उनीहरुको दुःखमा साथ दिंदै उनीहरुको अधिकार दिलाउन अवहोरात्र खटिनुपर्ने बताए । जनमुक्ति पार्टी एउटा पुरानो पार्टी मात्र नभई न्याय र हकअधिकारको लागि जनतामुखी पार्टी भएको बताए ।

उनले बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको १०१ दिनपछि मात्रै यो सरकार बारे आफ्नो धारणा सार्वजनिक गर्ने बताउँदै वर्तमान अवस्थामा भूमिहीन जनता र अव्यवस्थित रुपमा बसोबास गर्दै आएका जनतालाई अनाहक रुपमा दुःख दिएकोप्रति अध्यक्ष सूर्यवंशीले खेद प्रकट गरे । उनले स्थापना दिवसको उपलक्ष्यमा सहभागी विभिन्न जिल्लाबाट कार्यक्रममा सहभागी जनमुक्ति पार्टीका नेता तथा कार्यकर्ता, पत्रकारहरुलाई बधाई तथा धन्यवाद समेत व्यक्त गरेका थिए ।

त्यसैगरी यता काठमाडौं स्थित जनमुक्ति पार्टी कार्यालय बालुवाटारमा समेत पार्टीको ३६औं स्थापना दिवसको अवसरमा केक काटेर स्थापना दिवस भब्य रुपमा मनाइएको छ । स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रधान गरिएको पार्टीको केन्द्रीय सचिवालय प्रमुख पार्टी उपमहासचिव चेत आलेले बताए ।

उनका अनुसार स्थापना दिवस काठमाडौं, इलाम, कैलाली, नवलपरासी (बसुप) र नवलपरासी (ससुपु) गरी मुख्यतया ५ स्थानमा राष्ट्रिय जनमुक्ति पार्टीको ३६औं स्थापना दिवस मनाइएको छ ।
उपमहासचिव आलेका अनुसार नेपालमा २०४६ सालको प्रजातान्त्रिक आन्दोलनको सफलतासंगै २०४७ साल बैशाख २३ गते काठमाडौंमा वैकल्पिक राजनीतिक शक्तिको रूपमा राष्ट्रिय जनमुक्ति पार्टी स्थापना गरिएको थियो ।

देशमा स्थायी शान्ति र दीगो विकासका लागि पूर्ण संघीयता, सुशासन र भ्रष्टाचारमुक्त शासन, सबै जातजाति र समुदायको समानुपातिक प्रतिनिधित्वको व्यवस्था, धर्म निरपेक्षता, राष्ट्रिय पूँजी निर्माणका लागि सरकार, जनता, उद्यमी र व्यवसायीको लगानी रहने अर्थतन्त्र लगायतका आमूल परिवर्तनको मुद्दाहरू बारेमा राष्ट्रिय जनमुक्ति पार्टीले निरन्तर पैरवी गर्दै आएको छ ।

देशमा विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तनसंगै स्थापना गरिएका कैयौं दलहरू एउटा राष्ट्रिय निर्वाचन र अर्को निर्वाचन बीचमा अवसान नै भए तर राष्ट्रिय जनमुक्ति पार्टी स्थापनाकालदेखि हालसम्मका राष्ट्रिय निर्वाचनमा प्रत्यक्ष तर्फ जीत निकाल्ने अवस्था नबने पनि आफ्ना मुद्दाहरूलाई समयसापेक्ष रूपमा इमान्दार ढङ्गले निरन्तर वकालत गर्दै आएको छ ।

हजारौं नेता कार्यकर्ताहरुको इमान्दार प्रयत्न कै कारण पार्टी अविचलित रुपमा आज ३६ वर्षको इतिहास र विरासत बोकेको दलको रूपमा कृयाशिल रही आएको सो पार्टीका नेताहरुको भनाई छ । देशभर मनाइएको सो पार्टीको स्थापना दिवसको अवसरमा पार्टीका केन्द्रीय नेताहरुको सहभागीतामा कार्यकर्तालाई प्रशिक्षण समेत दिइएको थियो ।