वीरेन्द्रनगर, वैशाख २८। स्थानीय स्तरमा उत्पादन हुने प्राङ्गारिक कृषि उपजको प्रवर्द्धन, किसानको सम्मान तथा स्वस्थ र पोषणयुक्त खानाप्रतिको जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुर्खेतकाे भेरीगंगा नगरपालिकामा ‘वृहत प्राङ्गारिक कृषि तथा पोषण मेला २०८३’ आयोजना हुने भएको छ।
आगामी जेठ १ गते आयोजना गर्न लागिएको उक्त मेलाले स्थानीय किसानले उत्पादन गरेका स्वच्छ, विषादीरहित तथा पोषणयुक्त कृषि उपजलाई बजारसँग जोड्दै किसानको उत्पादनलाई उचित पहिचान दिलाउने लक्ष्य लिएको आयोजकले जनाएको छ।
मेलामा स्थानीय किसानद्वारा उत्पादन गरिएका तरकारी, फलफूल, अन्नबाली, बीउबिजन, कृषि औजार, स्थानीय परिकार तथा घरेलु उत्पादनहरूको विशेष प्रदर्शनी गरिनेछ।
साथै पोषण परिकार प्रतियोगिता, कृषि तथा पोषणसम्बन्धी हाजिरीजवाफ, किसान–वैज्ञानिक अन्तरक्रिया, अनुभव आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रमहरू समेत आकर्षणका रूपमा रहनेछन्।
कार्यक्रमले विशेषगरी युवापुस्तालाई कृषि क्षेत्रप्रति आकर्षित गर्नुका साथै प्राङ्गारिक उत्पादनको महत्वबारे सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।
आयोजक समितिका अनुसार मेला किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध विस्तार गर्दै स्थानीय उत्पादनको बजारीकरणमा महत्वपूर्ण माध्यम बन्नेछ।
कार्यक्रम संयोजक सुरज बि.सी.ले प्राङ्गारिक कृषि र पोषणलाई जोडेर समुदायमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले मेला आयोजना गरिएको बताए।
उनले भने,“स्थानीय किसानको मेहनतलाई सम्मान गर्दै प्राङ्गारिक उत्पादनलाई प्रोत्साहन गर्नु हाम्रो मुख्य उद्देश्य हो। स्वस्थ जीवनशैली, पोषणयुक्त खाना र स्वदेशी उत्पादनको महत्वलाई समुदायसम्म पुर्याउन यो मेला प्रभावकारी बन्ने विश्वास लिएका छौँ।”
उनले सम्पूर्ण कृषक, युवा, सरोकारवाला निकाय तथा आम नागरिकलाई मेलामा सहभागी भई स्थानीय उत्पादनको प्रवर्द्धनमा साथ दिन आग्रह समेत गरे ।
भेरीगंगा नगरपालिका, सुर्खेतको समन्वयमा आयोजना हुन लागेको उक्त मेला कृषि, पोषण, स्थानीय उद्यम तथा प्राङ्गारिक उत्पादन प्रवर्द्धनका दृष्टिले महत्वपूर्ण कार्यक्रमका रूपमा हेरिएको छ।