• आश्विन २१ २०८१, सोमबार

धर्म निरपेक्षता र संघीयतामा जनमत संग्रह माग गरिएको रिटलाई सर्वोच्चको अग्राधिकार

आश्विन २० २०८१, आईतवार

काठमाडौं । संघीयता र धर्म निरपेक्षतामा जनमत संग्रहको माग गर्दै दायर गरिएको रिटलाई सर्वोच्च अदालतले अग्राधिकार प्रदान गरेको छ । अधिवक्ताद्वय डा.ज्ञान बस्नेत र श्यामकृष्ण मास्केले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइपछि न्यायाधीश सपनाप्रधान मल्लको एकल इजलासले अग्राधिकार प्रदानसहित कारण देखाऊ आदेश जारी गरेको छ ।

निवेदक अधिवक्ताद्वय बस्नेत र मास्केसहित वरिष्ठ अधिवक्ता ध्रुवलाल प्रधानले रिटको पक्षमा बहस गरेका थिए । रिटमा संविधान कार्यान्वयनमा आएको १० वर्ष पुग्न लागेकाले यसका असन्तुष्टिका विषयमा निर्णय गर्ने समय भएको दाबी गरिएको छ ।

धर्म निरपेक्षता र संघीयतामा नागरिकको असन्तुष्टि रहेको दाबीसहित जनमत संग्रहबाट निर्णय गर्नुपर्ने माग रिटमा गरिएको छ । त्यसका लागि २०८४ को चुनावमा जनमत संग्रहको प्रश्नसमेत लिएर जाने गरी कानुन बनाउन सरकारका नाममा आदेश माग गरिएको छ ।

धर्म निरपेक्षता र संघीयतामा जनमत संग्रह माग गरिएको रिटलाई सर्वोच्चले अग्राधिकार प्रदान गरेकोमा निवेदक अधिवक्ताद्वय बस्नेत र मास्केले सकारात्मक रुपमा लिएको बताएका छन् । यी दुई विषय लगायत थुप्रै जनसरोकारका विषयमा अधिवक्ताद्धयले सर्वोच्चमा रिट दायर गर्दै आएका छन् ।