• आश्विन २० २०८१, आईतवार

वर्षा रोकिएसँगै दशैं मनाउन झण्डै ४ लाख मानिसले उपत्यका छाडे

आश्विन २० २०८१, आईतवार

असोज २०, काठमाडौँ । वर्षा रोकिएपछि असोज १४ देखि आजसम्म ३ लाख ८० हजार मानिसले उपत्यका छाडेका छन् । उनीहरु दशैं मनाउन गाउँ जान लागेका हुन् ।

पछिल्लो एक हप्तामा ३ लाख ८० हजार १६४ जना मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी रविन कार्कीले बताए । असोज १९ गते साँझ ६ बजेबाट आइतबार बिहान ६ बजेसम्म जम्मा १६ हजार ४६५ जना बाहिरिएका छन् ।

सो अवधिमा ७ हजार १८ जना उपत्यकामा भित्रिएका छन् । असोज १४ पछि २ लाख ६० हजार ६२९ जना उपत्यका भित्रिएका छन् । उपत्यका भित्रिन चाहने करिब ५ सय सवारी साधनमा कभ्रेपलाञ्चोकको रोशीखोलामा रोकिएका छन् ।

काठमाडौँ उपत्यका बाहिरिने मुख्य नाका नागढुंगामा सवारी आउने र जाने चाप बढेको छ । भक्तपुरको जगातेबाट दोलालबाट र काभ्रेको भकुन्डेतर्फ जाने सवारी मात्रै छुटेका छन् ।

वीपी राजमार्ग अवरुद्ध भएको हुनाले जगातेबाट थोरै सङ्ख्यामा सवारी बाहिरिने गरेको डीएसपी कार्कीले जानकारी दिए । चित्लाङ र रामकोट तर्फबाट साना सवारी साधन बाहिरिएका छन् ।

दक्षिणकालीस्थित फर्पिङको सडक अवरुद्ध हुँदा त्यसतर्फ सवारी आवागमन रोकिएको छ । टोखाबाट नुवाकोटतर्फ जाने नाका निर्बाध रुपमा चलिरहेको छ ।