• आश्विन १९ २०८१, शनिबार

काठमाडौंबाट लमजुङ जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटनाः एक जनाको मृत्यु, ५ घाइते

आश्विन १९ २०८१, शनिबार

असोज १९, नुवाकोट । नुवाकोटको काफलडाँडामा हाइलक्स गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शिवपुरी गाउँपालिका–८ काफलडाँडामा शनिबार काठमाडौंबाट नुवाकोट हुँदै लमजुङ जाने क्रममा बा १४ च ३८५४ नम्बरको निजी हाइलक्स गाडी सडकबाट ५० मिटर तल खसेको हो ।

दुर्घटनामा काठमाडौंको तारकेश्वर नगरपालिका– ९ का ५८ वर्षीय उपेन्द्र खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । दुर्घटनामा चालकसहित पाँच जना घाइते भएका छन् ।

दुर्घटनामा चालक काठमाडौंको तारकेश्वर १ का ४६ वर्षीय विश्वनाथ अधिकारी, नागार्जुन–३ का ६३ वर्षीय चन्द्रनाथ शर्मा, तारकेश्वर ९ मनमैजुका ५२ वर्षीय रामशरण अधिकारी, ७६ वर्षीया हरिकला खनाल र ५१ वर्षीया गायत्री खनाल घाइते भएको प्रहरी उपरिक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका खनालको काठमाडौको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा ज्यान गएको हो ।

दुर्घटनालगत्तै स्थानीयवासी, जनप्रतिनिधि र प्रहरीले घाइतेको उद्धार गरेका थिए । घाइतेहरुको काठमाडौंको विभिन्न अस्पतालमा उपचार भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।