• मंसिर १४ २०८१, शुक्रबार

झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

आश्विन १७ २०८१, बिहीबार

१७ असोज, झापा । झापामा हात्तीको आक्रमणबाट दक्षिण झापाको हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङको मृत्यु भएको छ । स्थानीय रणकाली सामुदायिक वनबाट घाँस काटेर घर फर्किने क्रममा ६५ वर्षीय गुरुङलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले आज बिहान जंगलबाट घाँस काटेर घर फर्कने क्रममा हात्तीले गुरुङलाई आक्रमण गर्दा उहाँको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । ‘जंगली हात्तीले लछारपछार पारी कुल्चिँदा गुरुङको मृत्यु भएको खबर पाएका थियौँ ।

खबर पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको हो’, सूचना अधिकारी चन्दले भने, ‘घटनास्थलमा प्रहरी परिचालन गरी सुरक्षित राखेका छौँ । मृतकको शव परिवारलाई बुझाउन कानुनी प्रक्रिया भइरहेको छ ।’झापामा केही वर्षयता जङ्गली हात्तीको आक्रमणबाट जङ्गल आसपासका बासिन्दाको मृत्यु हुने गरेको छ । जङ्गलमा घाँस दाउरा लिन, च्याउ र निगुरो टिप्न र गाईवस्तु चराउन जाँदा हात्तीले मानिसमाथि आक्रमण गर्दै आएको छ ।