काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले आज र भोलि मुलुकको विभिन्न स्थानमा वर्षाको सम्भवना रहेको बताएको छ ।
महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।
माहाशाखाले बुधबार र बिहीबार मुलुकका विभिन्न स्थानमा वर्षा भएपनि अविरल वर्षाको सम्भावना नभएकाले आत्तिनुपर्ने अवस्था नरहेको जनाएको छ ।
मौसमविद् गोविन्द झाले कोशी प्रदेशका केही स्थान, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जानकारी दिए । उनले भने, ‘कोशी, बागमती र गण्डकी प्रदेशकै केही स्थानमा भारी वर्षाको पनि सम्भावना छ, तर गत साता जस्तो लगातार झरी पर्दैन, कति सर्वसाधरणमा त्रास फैलिएको पाइयो तर आत्तिनु पर्दैन ।’
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी र बागमती प्रदेशका एकदुई स्थानमा धेरै वर्षाको पनि सम्भावना छ।