• आश्विन १५ २०८१, मंगलवार

उमेर हदबारे अखिल क्रान्तिकारीमा मतदान हुँदै

आश्विन १५ २०८१, मंगलवार

नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) मा उमेर हदबारे आज मतदान हुँदै छ। सोमबार अबेर रातिसम्म बसेको कार्यलय टिमले मंगलबार उमेर हदका बारेमा निर्वाचन गर्ने सहमति गरेका थियो ।

आज मतदान प्रक्रिया सुरू हुने पूर्वउपाध्यक्ष जीपी मैनालीले जानकारी दिए । उनले भने, ‘२८, ३०, ३२ उमेर हद लगाउने नलगाउने बारेको मत दान हुनेछ । आज उमेर हदका बारेमा मतदानबाट टुङ्गो लगाउँछौँ । भोलि नयाँ नेतृत्वको लागि मतदान हुनेछ ।’

क्रान्तिकारीमा सोमबारसम्म प्रतिनिधिको पनि टुङ्गो लागेको थिएन । हिजो राति अबेरसम्म छलफल गरेर प्रतिनिधिबारेको विवाद टुंगो लगाएको मैनालीले बताए । उनले भने, ‘प्रतिनिधिको टुङ्गो लगाएका छौँ । आज उमेरहदबारे र भोलि नेतृत्वका निर्वाचन हुनेछ ।’

गत १० असोजदेखि सुरू भएको राष्ट्रिय सम्मेलनको बन्दसत्रमा उमेरहद लागू गर्नेरनगर्नेबारे बहस भइरहको थियो । माओवादी पदाधिकारीले पनि उमेर हदबारे निर्णय गर्न विद्यार्थीलाई नै जिम्मा दिएको छ ।

सोमबार सम्मेलनस्थलमा कुर्सी हानाहान र नाराजुलुस भएपछि उमेर हद टुङ्ग्याउने भनेको निर्वाचन प्रक्रिया नै सुरु हुन सकेन । निर्वाचन प्रक्रिया लम्बिएसँगै सम्मेलनको अवधि पनि लम्बिने भएको छ । यसअघि मंगलबार सम्मेलन सक्ने तयारी क्रान्तिकारीको थियो ।

अखिल क्रान्तिकारीमा उमेर हद लगाउने या नलगाउने तथा लगाए कति वर्षसम्म लगाउने भन्नेमा विवाद छ ।