• आश्विन १४ २०८१, सोमबार

प्रदेश विशेष कृषि कर्जा’ प्रोडक्टको शुभारम्भ

आश्विन १४ २०८१, सोमबार

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले ‘प्रदेश विशेष कृषि कर्जा’ प्रदान गर्ने प्रोडक्टको शुभारम्भ गरेको छ । कानूनी रुपमा फर्म वा कम्पनीमा दर्ता भई कषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेर सम्मका नेपाली नागरिकले कर्जाको लागि आवेदन दिन सक्नेछन् ।
सम्पूर्ण प्रदेशका कृषि क्षेत्रको विकासका लागि प्रदेशगत विशेष कृषि उपजहरुका आधारमा यो कार्यक्रममार्फत अधिकतम पाँच करोड रुपैयाँसम्म कर्जा प्रदान गरिनेछ ।

कोशी प्रदेशमा अलैंची, मधेश प्रदेशमा माछा, बाग्मती प्रदेशमा कुखुरा, गण्डकी प्रदेशमा फलफुल, लुम्बिनी प्रदेशमा पशुपालन, कर्णाली प्रदेशमा जडिबुटी र सुदूर पश्चिम प्रदेशमा केरा खेतीलाई विशेष कृषि उपज निर्धारण गरी बैंकले कृषि कर्जा निर्देशिका, २०६९(संशोधन सहित) अनुसार लगानी गरिने यो कर्जा अधिकतम १० वर्ष अवधिका लागि प्रदान गरिने जनाएको छ ।

आधार दरमा  0.५० प्रतिशत प्रिमियम जोडी ब्याजदर निर्धारण गरिने यो कर्जामा खुद व्यापारिक सम्पत्तिको अधिकतम ७० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने छ ।

ग्राहकले सञ्चालन गर्ने कृषि परियोजना नै धितोको रुपमा रहने छ भने आवश्यकता अनुसार घर/जग्गा समेत धितो सुरक्षणको रुपमा स्वीकार गर्न सकिने बैंकले जनाएको छ । बैंकको देशैभर रहेका सम्पूर्ण शाखा कार्यालयहरुबाट प्रदेश विशेष कृषि कर्जा प्रदान गरिने जनाइएको छ ।