१० असोज, काठमाडौं । हिजोआज काठमाडौंमा धरहरा चढ्नेहरुको भीड छ । निर्माणको काम नसकिंदै सञ्चालन गरिएको २२ तले नयाँ धरहराको छेउमा अलपत्र छ, २०७२ सालमा भूकम्पबाट भत्किएको भीमसेन स्तम्भ (पुरानो धरहराको फेद) । सरकारले पुरानो धरहरालाई सीसाभित्र राखेर संरक्षण गर्ने अनि बाहिरबाट पुरानो (१९९० को भूकम्पअघिको ११ तले) धरहराजस्तै देखिने गरी अर्को धरहरा बनाउने काम अघि बढाएको थियो ।
पुरानो धरहरा क्षेत्र आसपासको राष्ट्र बैंकको टक्सार र हुलाक सेवा विभागको जग्गा समेत लिएर पुरानो धरहरा र सुन्धारासहितको क्षेत्रलाई भूकम्प संग्रहालयको रुपमा विकास गर्ने भनिएको थियो । तर, भनेअनुसार काम भएन । ठेक्का लगाउँदासम्म सीसाभित्र राखेर संरक्षण र प्रदर्शन गर्ने योजना थियो । तर, नयाँ धरहराको काम हुँदै गर्दा धरहराको ठुटो संरक्षणबारे फरक मत आए । स्थानीयले पुरातात्विक धरहरालाई सीसाभित्र राख्ने योजनाको विरोध गरेपछि सो काम हुन सकेन ।
त्यसपछि धरहराको भग्नावशेषलाई खुला रुपमै सुरक्षित ढंगले राख्ने योजना बन्यो । तर, सीसाभित्र नराखे पनि भत्किएको धरहरालाई पनि भत्किंदा जुन स्वरुपमा आयो, दुरुस्तै राखिरहनु पर्ने र त्यसमा थप क्षति हुन नदिने विषय पेचिलो थियो । धरहराको बाँकी रहेको भागलाई प्रबलीकरण (रेट्रोफिट) गर्दै सो संरचनालाई ‘केमिकल ट्रिटमेन्ट’ गरेर स्थिर बनाउनेछ योजना सरकारले बनायो । तर, पुरातात्विक सम्पदामा केमिकल राखेर प्रबलीकरण गर्ने विषयमा पनि सहमति बन्न सकेन ।
अहिले पनि पुरातत्व विभाग र धरहराको पुनर्निर्माण हेरिरहेको शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) का परियोजनाबीच भत्किएको धरहराको संरक्षणबारे सहमति जुटेको छैन । नयाँ धरहरा चढ्नेहरुलाई प्रवलीकरणको पर्खाइमा रहेको ऐतिहासिक धरहराबारे जानकारी दिन समेत सरकारले रुचि देखाएको छैन । अग्लो नवनिर्मित धरहराको छेउमा जस्ताको छानो हालेर हरियो रंगको झुलले छेकेर राखिएको पुरानो पुरातात्विक धरहरा कहिलेदेखि सर्वसाधारणका लागि खुला हुन्छ भन्ने निश्चित छैन ।
पुरानो धरहराबारे जान्न इच्छुकका लागि सामान्य सूचना दिने व्यवस्था समेत नगरी नयाँ धरहरा खुला गरिएको छ । विभागले भत्किएर बाँकी रहेको धरहरालाई बलियो बनाउने काम आफ्नै योजनाअनुसार हुनुपर्ने अडान लिएको छ । त्यसैले चालु आर्थिक वर्षको बजेटमा धरहराको ठुटो संरक्षणको कामका लागि छुट्टै बजेट विनियोजन गरिएको छ । भत्किएको धरहराका प्रबलीकरणको काम धरहरा पुनर्निर्माणको जिम्मा लिएको जेआईटीसीररमण जेभीले जिम्मा पाएको थियो ।
तर केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास)का प्रमुख कोषनाथ अधिकारीका अनुसार भत्किएको धरहराको पुरानो भागलाई संरक्षण गर्ने कामको नेतृत्व पुरातत्व विभागले नै गर्न चाहेपछि ठेक्काबाट यो काम अलग्याउने गरी नयाँ कार्यक्रम बनाएर बजेट राखिएको छ । यसअनुसार अब ठेकेदारको कार्य विवरणबाट यो काम झिकेर ठेक्का भेरिएसन गरिने उनले बताए । ‘भीमसेन स्तम्भको प्रवलीकरणको काम पुरातत्व विभाग आफैं गर्न पाए जस्तो गर्दैछ’, अधिकारीले भने, ‘त्यसको कारण देखाएर यति ठूलो ठेक्कामा हामी म्याद कति थप्नु भनेरै नयाँ कार्यक्रम बनाएका हौं ।’
पुरातत्व विभागका निर्देशक तथा प्रवक्ता रामबहादुर कुँवर परियोजनाका तर्फबाट भीमसेन स्तम्भको भत्किएर बाँकी रहेको भागको संरक्षणबारे प्रस्ताव नै पेश नगरेको बताउँछन् ।