• आश्विन १० २०८१, बिहीबार

भरतपुरको पुङ्गी खोला संरक्षण अभियान : लायन्स क्लबको भवनमा चल्यो डोजर

आश्विन ९ २०८१, बुधबार

९ असोज, चितवन । चितवनको भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन सुरु गरेको छ । नारायणगढको लायन्सचोकमा पुङ्गी खोला किनारको सार्वजनिक जग्गा मिचेर बनाइएको लायन्स क्लबको भवनमा महानगरले बुधबार बिहान डोजर चलाएको छ । अतिक्रमित संरचना भत्काउन मेयर रेनु दाहाल आफैं फिल्डमा पुगेकी छन् । भरतपुर महानगरका अनुसार १८८.९४ वर्गफिटमा बनाइएको लायन्स क्लबको भवनको नक्सापास नै थिएन ।

क्लबसँग तीन धुर जग्गा मात्र भएको लालपूर्जा थियो । महानगरपालिकाले २०८० वैशाख २१ गते नै पुङ्गी खोला करिडोर नापजाँच गरी अतिक्रमित जग्गा खाली गर्न आग्रह गर्दै गत साउत १२ गते सार्वजनिक सूचना जारी गरेको थियो । त्यसपछि निर्देशक समितिको गत भदौ २८ गतेको बैठकले पुङ्गी खोला तथा अन्य स्थानमा अवैधानिक रुपमा बनाइएका घर टहरा लगायतका संरचना भत्काउने निर्णय गरेको थियो । पुङ्गी खोलामा पहिले कञ्चन पानी बग्ने गर्दथ्यो ।

तर बढ्दो शहरीकरणसँगै खोला अतिक्रमणको चपेटामा परेको थियो । वरपरका घर र तरकारी मण्डीको फोहोर बिसर्जन गरिदिँदा पुङ्गी खोला सानो ढलजस्तो देखिन्छ । मेयर रेनु दाहालले पुङ्गी खोलालाई पुनर्जीवन दिने लक्ष्यसहित संरक्षण र सौन्दर्यकरण अभियान एक साथ सुरु गरेकी छन् । त्यसका लागि पहिलो चरणमा सघन तथा भवन निर्माण आयोजना चितवनबाट ६ करोड ६५ लाख रुपैयाँ बराबरको बजेट विनियोजन भएको छ ।

महानगरको गौरवको योजनामा समावेश भएको पुङ्गी खोला सिमाङ्कन, संरक्षण र सौन्दर्यकरणको पहिलो चरण अन्तर्गत दुवैतर्फ ३५५र३५५ मिटर क्षेत्रमा सौन्दर्यकरणको काम गरिनेछ । वृक्षरोपण, फुटरेल, रिटेनिङ्ग वाल, रेलिङ्गसहित मोर्निङ र इभिनिङ वाक गर्न मिल्ने गरी संरचना निर्माण गर्ने योजना छ । प्रारम्भिक गुरुयोजना अनुसार खोला किनारमा पर्यटकले चिया, खाजा खाने स्टेसन, विश्रामस्थल, खुला व्यामशाला पनि रहने छन् ।