• आश्विन ९ २०८१, बुधबार

रवीन्द्र मिश्रको टिप्पणी मात्रै मनगढन्ते धारणा हो-  ‘प्रचण्ड’ सचिवालय

आश्विन ९ २०८१, बुधबार

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को सचिवालयल्र राप्रपाका नेता रवीन्द्र मिश्रले गरेको टिप्पणीप्रति खण्डन गरेको छ ।

 अध्यक्ष ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले मिश्रको टिप्पणीमा कुनै सत्यता नभएको र यो उनको मनगढन्ते धारणा भएको बताएका छन् ।

‘प्रचण्ड’ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रबीच मंगलबार खुमलटारमा भेट भएको थियो । भेटवार्तापछि मिश्रले सामाजिक सञ्जालमा एक पोस्ट राख्दै ‘प्रचण्ड’ले निरन्तरताको क्रमभंगता खोजेको दाबी गरेका थिए ।

‘हिजो बिहानको खुमलटार भेटघाटमा रवीन्द्र मिश्रजीले आफ्ना विचारहरू राखेको कुरालाई फेसबुकमार्फत पूर्वप्रधानमन्त्री तथा श्रद्धेय अध्यक्षको विचारसमेत भनेर केही टिप्पणी लेख्नुभएको छ’- मल्लले सचिवालयको धारणा सार्वजनिक गर्दै भनेका छन्– ‘जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान् बलिदानपूर्ण आन्दोलनको नेतृत्व गर्नुभयो । शान्ति र संविधान निर्माणको नेतृत्व गर्नुभयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तव्यमा लैजाने अभियानको नेतृत्व गरिरहनु भएको छ, उहाँका विचार भनेर मिश्र सरले आफ्ना मनगढन्ते विषय प्रस्तुत गर्नु राजनैतिक संस्कार होइन ।’

पञ्चायतको निरङ्कुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगति र जनताको बरबादीबारे अझै कोही नेपाली भ्रममा होलान् र भन्ने प्रश्न गर्दै मल्लले भने- ‘मिश्र सर, यति सस्तो (अ)राजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि !