डोटीको दिपायलका चार युवाले व्यावसायिक बेसार खेती सुरु गरेका छन् । तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले दिपायल सिलगढी नगरपालिका–३ स्थित बान्नेकोटमा करिब १८ रोपनी जमिनमा बेसारखेती सुरु गरेका हुन् ।
वर्षौंदेखि बाँझो रहेको जमिनलाई उपयोगमा ल्याउँदै युवाले यस वर्षदेखि व्यावसायिक बेसार खेती सुरु गरेको जनाएका छन् । चारै जना युवा अन्य पेसामा पनि आवद्ध छन् । द्वारिया शिक्षक, दीपक र कैलाश इलेक्ट्रिसियन तथा शैलेन्द्र उद्योगी हुन् ।
प्रायः आफ्नै काममा व्यस्त हुने यी युवाले बाँकी समय सदुपयोग गर्दै व्यावसायिक बेसारखेती गर्ने योजना बनेको युवा शैलेन्द्र खड्काले बताए । एक दिन चिया गफकै क्रममा यो योजना बनेको हो । योजना कार्यान्वयन गर्न जमिनको समस्या थिएन र बीउको खोजी भयो । जिल्लामा आवश्यक बीउ पाइने स्थिति नभएपछि सल्यानबाट ल्याएर का सुरु र्गयौँ । अनलाइनका माध्यमबाट १ लाख बराबरको साढे १३ क्विन्टल बीउ ल्याएर रोपेका थियौँ, उनले प्रारम्भिक योजनाबारे सुनाए ।
दिनभरि आ–आफ्नै काममा व्यस्त भए पनि साँझ र बिहान समय व्यवस्थापन गरेर खनजोत र बेसार रोपेको पनि चार महिना पूरा भइसकेको छ । एकपटक बेसारको गोडमेल पनि भइसकेको छ । अहिले बेसार बिक्रीका लागि बजारको खोजी भइरहेको र त्यसका लागि केहीसँग सामान्य कुरा भए पनि ठोस निर्णय भइनसकेको खड्काले जानकारी दिए ।
उनले भने, अहिले पहिलो चरणमा साथीहरूका बीचमा बीउका लागि बिक्री गर्ने भन्ने कुरा चलेको छ तर निर्णय नै भइसकेको छैन, हामीले विकल्पका रूपमा ब्राण्डिङ गरेर बिक्री गर्ने सोच पनि बनाएका छौँ ।उनीहरूले बेसारलाई मात्रै होइन पातलाई पनि प्रयोगमा ल्याउने योजना बनाएका छन् । बेसारको पातलाई खेर जान नदिएर टपरी बनाउने योजना पनि रहेको छ । बेसार मसलादार भएकाले यसको पातको टपरीमा खानेकुरा खादा राम्रो सुगन्ध आउने र खाना पनि राम्रो हुने जनाइएको छ ।
बेसार खेतीका लागि युवाहरूलाई कृषि ज्ञान केन्द्र डोटीले सहयोग गरेको छ । आर्थिक वर्ष २०८० र८१ को अदुवा तथा बेसारखेती क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत ज्ञान केन्द्रले बीउ खरिदका लागि रकममा ५० प्रतिशत अनुदान सहयोग गरेको कार्यालयका निमित्र् प्रमुख गङ्गादत्र् अवस्थीले बताए । जिल्लाका तीनवटा पालिका जोरायल, बडिकेदार र बोगटान फुड्सिल गाउँपालिकामा मात्र सीमित रहेको मसलादार बेसार खेती अन्य पालिकामा विस्तार गर्ने र कृषि पेसा गर्ने युवाहरूलाई प्रोत्साहन गर्न ज्ञान केन्द्रले सहयोग गरिरहेको छ ।