• आश्विन ४ २०८१, शुक्रबार

गोरखा मिडिया नेटवर्कमा २२ करोड ४६ लाखभन्दा बढी विभिन्न सहकारीबाट गएको प्रतिवेदनमा उल्लेख

आश्विन ४ २०८१, शुक्रबार

४ असोज, काठमाडौँ । सहकारीको बचत अपचलन छानबिन विशेष समितिले सूर्यदर्शन, सुप्रिम, सानो पाइला, स्वर्णलक्ष्मी, समानता, सहारा सहकारीबाट गोरखा मिडिया नेटवर्कमा २२ करोड ४६ लाख ३० हजार रुपैयाँ कानुन विपरीत गएको उल्लेख गरेको छ ।

सूर्य थापा नेतृत्वको समितिले तीन महिना लगाएर तयार पारेको प्रतिवेदन अनुसार गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईले उक्त पैसा मिडियामा लगेका हुन् ।

‘राईले विभिन्न आफन्तको नाममा प्रचलित सहकारी कानुन विपरीत ऋण तथा पेस्की गरी जम्मा रु. २ अर्ब ५८ करोड बराबरको रकम पठाई अपचलन भएको पाइएको छ‚’ शुक्रबार सार्वजनिक भएको प्रतिवेदनमा लेखिएको छ ।  प्रतिवेदन अनुसार ६५ करोड ५४ लाख ४ हजार ५३८ रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिको खातमा राईले जम्मा गरेका हुन् ।

‘उक्त रकम मध्ये रु.२२,४६,३०,०० सूर्यदर्शन, सुप्रिम, सानो पाइला, स्वर्णलक्ष्मी, समानता, सहारा सहकारीबाट जम्मा भएका देखिन्छन् भने ४३,०७,७४,५३८ विभिन्न व्यक्तिका नाममा ऋण देखाई रकम गोर्खा मिडियामा जम्मा गरी जीबी राईको नाममा ऋण कायम गरिएको देखिन्छ‚’ प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदन अनुसार जम्मा भएको रकम मध्ये रु. बाह्र करोड गोर्खा मिडिया नेटवर्क प्रालि को शेयर पुँजीवापत जम्मा गरिएको र रु. ८ करोड २० लाख ९१ हजार ६४३ जीबी राई स्वयंले प्रयोग गरेको उल्लेख छ ।

‘पछि रवि लामिछाने समेतले गोर्खा मिडिया छाडेपछि गोर्खा मिडयाको सञ्चालकको रूपमा भित्रिएको जीबी गुप अफ कम्पनीले मिति २०७९–०३–३० मा सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट रु.२ करोडको ऋण लिई गोर्खा मिडिया नेटवर्क प्रालि लाई मिति २०७९–०३–३१ मा २० लाखको ऋण प्रवाह गरेको देखिन्छ‚’ प्रतिवेदनमा लेखिएको छ ।