• आश्विन ४ २०८१, शुक्रबार

दरबारमार्गबाट एक जना फरार प्रतिवादी पक्राउ

आश्विन ४ २०८१, शुक्रबार

काठमाडौं, असोज ४ । काठमाडौंको दरबारमार्गबाट एक जना फरार प्रतिवादी पक्राउ परेका छन् ।दरबारमार्गमा बिहीबार संविधान दिवसका अवसरमा ‘नेशनल डे कन्सर्ट’ को आयोजना भएको थियो ।

उक्त कन्सर्टमा धकेलाधकेल र अभद्र व्यवहार गरिरहेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको थियो । ती व्यक्तिलाई नियन्त्रणमा लिएर पृष्ठभूमि हेर्दा फरार प्रतिवादी रहेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

उनकाअनुसार बझाङ मष्ट गाउँपालिका ३ स्थायी घर भई माछापोखरी बस्दै आएका १९ वर्षीय तिलक खड्का पक्राउ परेका हुन् ।उनीविरूद्ध प्रहरी वृत्त दरबारमार्गबाट तीन महिनाअघि मुद्दा चलेको थियो । त्रिचन्द्र क्याम्पसमा तीन महिना अगाडि सोही क्याम्पस पढ्ने प्रवेश लामालाई ‘नक’ले प्रहार गरेर घाइते बनाएका थिए ।

घाइते लामा अहिले खतरामुक्त भइसकेका छन् । तर उक्त घटनापछि फरार रहेका खड्कालाई प्रहरीले पक्राउ गरी म्याद थप गर्ने तयारी गरिरहेको हो । खड्काविरूद्ध ज्यान मार्ने उद्योग कै अर्को घटना पनि रहेको खुलेको हो ।

यद्यपि उक्त मुद्दामा भने उनी धरौटीमा छुटेको प्रहरीले जनाएको छ । ‘दरबारमार्गमा धकेलाधकेल गर्नेहरू उनी मुख्य थिए । उनीसहित अन्य तीन जनालाई पनि ल्याएका थियौं,’ एसपी अधिकारीले भने, ‘खड्का भने फरार रहेको खुल्यो ।’