• आश्विन ४ २०८१, शुक्रबार

दरबारमार्गको कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन

आश्विन ३ २०८१, बिहीबार

संविधान दिवसका अवसरमा काठमाडौंको दरबारमार्गमा आयोजित ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा ट्राफिक प्रहरी गरी कम्तीमा पनि ५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।

कन्सर्टमा आउने हरेक व्यक्तिलाई सुरक्षा दिने गरी कम्तीमा पनि ५ हजार सुरक्षाकर्मी परिचालन गर्न व्यवस्थापन मिलाएका छौँ । कन्सर्टस्थलको वातावरण बिगार्न खोजे कारबाही हुनेछ उनले भने । दरबारमार्गमा आज साँझ ४ बजेदेखि ‘नेसनल डे कन्सर्ट’ को आयोजना गरिएको छ ।

उक्त कन्सर्टको सुरक्षा कमान्ड जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले गर्ने तथा कन्सर्टस्थलमा परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीलाई खटाउने गरी सुरक्षा योजना तयार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । नागरिकस्तरबाट आयोजित कन्सर्ट सञ्चालन गर्न सरकारले समन्वय र सहजीकरण गरेको छ । उक्त कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनेछन् ।

बिहीबार बेलुकी ८ बजेसम्मका लागि केशरमहल चोकबाट दक्षिणगेटतर्फ जाने सवारीसाधनलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारीसाधनलाई कृष्णपाउरोटीतर्फ र महेन्द्र सालिक चोकबाट दक्षिणगेटतर्फ जाने सवारीसाधनलाई घण्टाघरतर्फ ‘डाइभर्सन’ गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।