• आश्विन ४ २०८१, शुक्रबार

जान्नेलाई छान्ने’ पछि रास्वपाको नयाँ नारा ‘अब जान्ने बनौँ’

आश्विन ३ २०८१, बिहीबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ नारा पारित गरेको छ । सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनसँगै राष्ट्रिय भेलाले नयाँ नारा ‘अब जान्ने बनौँ’ भन्ने पारित गरेको हो । रास्वपाले यसअघि यसअघि ‘जान्नेलाई छान्ने’ नारा लिएको थियो ।

पछिल्लो नारा सभापति लामिछानेले लिडरसिप एकेडेमीको अवधारणालाई साकार पार्न ल्याएको बताएका छन् । ‘पार्टी गठनको पाँच महिनामै २०७९ को आमनिर्वाचनमा होमिँदा हामीले नारा बनाएका थियौँ, जान्नेलाई छान्ने’, प्रतिवेदनमा लामिछानेले भनेका छन्, ‘युवा उमेरमै समाजमा राम्रो पहिचान बनाएका, उच्च शैक्षिक योग्यता भएका र नैतिक एवं राजनीतिक रूपमा इमानदार हाम्रा उम्मेदवार तुलनात्मक रूपमा ‘जान्ने’ भएकाले यो नारा दिएका थियौँ । यो नाराले अन्य लका पनि ‘जान्ने’ उम्मेदवार छान्न मतदातालाई दबाब परोस् भन्ने अभिप्राय बोकेको थियो, एक हदसम्म यसले काम पनि र्गयो ।’

उनले एउटै नाराले परिवर्तित अवस्थामा चित्रण र जनभावनाको प्रतिनिधित्व गर्न नसक्ने भएकाले ‘अब जान्ने बनौँ’ नारालाई सार्थक बनाउने अभियान ल्याएका बताए । यो अभियान नै लिडरसिप एकेडेमी भएको लामिछानेको भनाइ छ ।

उनले लिडरसिप एकेडेमीमा थोरै राजनीतिक र धेरै व्यवस्थापकीय ज्ञान लिने, दिने अभ्यास गरिने उल्लेख गरेका छन् । ‘शासनरप्रशासन सञ्चालन, नीति–योजना निर्माण, नागरिकमैत्री राजनीतिक सेवालगायत विषयमा प्रशिक्षित हुन्छौँ’, लामिछानेको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘लिडरसिप एकेडेमी पढ्नेभन्दा सिक्ने र त्यसभन्दा बढी गलत सिकाइ बिर्सने ठाउँ हो, जहाँबाट प्रशिक्षित भएर योग्य उम्मेदवार मतदाताबीच जानेछन् ।’

उनले चुनावमा जानुअघि उम्मेदवारहरूले एकेडेमीमार्फत प्रशिक्षण लिनुपर्ने नियम लागू गर्ने पनि बताएका छन् ।