• आश्विन ४ २०८१, शुक्रबार

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ : प्रधानमन्त्री ओली

आश्विन ३ २०८१, बिहीबार

३ असोज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको प्रक्रियामा सरकारमा रहेका दलको संसद्को गणितीय सङ्ख्यालाई मात्र नहेरी सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने अधिकतम प्रयास गरिने स्पष्ट गरेका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ का अवसरमा मूल समारोह समितिले आज सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधानलाई समयानुकूल बनाउँदै अमिल्दा विषय र राजनीतिक तहमा देखिएको अस्थिरताको केही हदसम्म सम्बोधन संविधान संशोधनले गर्ने विश्वास व्यक्त गरे ।

संविधानमा लेखिएको कुरा व्यवहारमा लागु होस् भन्ने आम नागरिकको भावनालाई कदर गर्दै यस संविधानलाई जनसंविधानका रूपमा लिएर संविधान दिवसलाई औपचारिक मात्र नभई नागरिक स्तरमा भव्यरुपमा मनाउन पनि प्रधानमन्त्री ओलीले आग्रह गरे ।

‘संविधानमा लेखिएका कतिपय अधिकारहरू नागरिकका जीवनमा अनूदित भएका छैनन् । संविधानलाई जीवनमय बनाउन राज्य र नागरिक दुवै पक्षको प्रयास जरुरी छ । संविधानलाई जीवनमय बनाउने बाहेक यो सरकारसँग अरू कुनै मुद्दा छैन ।’,

संविधान दिवस मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री ओलीले भने, ‘युवा पुस्तासँग भएको ऊर्जा, हुटहुटी र सपनाको सही उपयोग हुनुपर्छ । युवाहरूलाई म भन्न चाहन्छु, तपाईँहरूसँग केही गरौँ भन्ने आगो बलिरहेको छ, त्यसलाई समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला ।’

प्रधानमन्त्री ओलीले समाजमा अनुशासन र सामाजिक व्यवस्था तथा मर्यादाको पालनाका लागि स्मरण गराउँदै भीडतन्त्र र अराजकता लोकतन्त्र अनुकूल हुन नसक्ने बताए ।