• आश्विन ४ २०८१, शुक्रबार

यसपटकको संविधान दिवसमा कैदी नछुट्ने

आश्विन २ २०८१, बुधबार

२ असोज, काठमाडौं । संविधान दिवसको अवसरमा यो पटक कैदीहरु नछुट्ने भएका छन् । कारागार व्यवस्थापन विभागले कैदी छुटेहरुको विवरण गृह मन्त्रालयमा पठाए पनि निर्णय हुन बाँकी रहेको भन्दै बिहीबार संविधान दिवसको अवसरमा कैदीबन्दी रिहा नहुने भएका हुन् । गृह मन्त्रालयले गृहकार्य नपुगेको भन्दै निर्णय नगरेकाले भोलि कैदीबन्दी छुट्ने अवस्था नरहेको कारागार व्यवस्थापन विभागका सूचना अधिकारी रामबहादुर सार्की बताए । ‘कैदी बन्दीको विवरण हामीले दुई पटक मन्त्रालयमा पठाइसकेका छौं । तर गृहबाट निर्णय हुन बाँकी भन्ने जानकारी आएकाले भोलि छुट्ने सम्भावना छैन’, उनले भने ।

असारमा पनि ६२० जनाको कैद कट्टा गर्ने भन्दै सार्वजनिक सूचना निकालिएको थियो । त्यसको दुई महिनापछि फेरि १७ भदौमा ४२० जनाको कैद कट्टा गर्ने भन्दै सूचना सार्वजनिक गरिएको थियो । दुबै टोलीमा सूचना निकालिएकाहरु ३ असोजमा संविधान दिवसको अवसरमा छुट्ने बताइएको थियो । तर अहिले फेरि केही गृह कार्य गर्नुपर्ने भन्दै रोकिएको छ । यसअघि १५ जेठमा गणतन्त्र दिवसको अवसरमा कैद कट्टा गरी कैदीबन्दी रिहा हुँदै आएकामा यो पटक गण्तन्त्र दिवसमा पनि रिहा भएका थिएनन् ।

यसअघिसम्म कैदीबन्दी रिहा गर्दा उनीहरुविरुद्ध उजुरी आह्वान गर्ने र पीडितको सहमति लिने प्रचलन थिएन । तर व्यक्ति हत्यामा सजाय भुक्तान गरिरहेका बाँकेका योगराज ढकाल (रिगल) रिहा भएपछि पीडित पक्षले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटको सुनुवाइ गर्दै तत्कालीन न्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा कुमार चुडालको पूर्ण इजलासले १६ कात्तिक २०८० मा पीडितको हक संरक्षित हुने गरी, सहमति तथा मञ्जुरीसमेत लिई पीडितलाई सामाजिक पुनस्र्थापना र क्षतिपूर्तिसहितको न्याय प्राप्त भएको अवस्था सुनिश्चित गरेर मात्र कैदी रिहा गर्नुपर्ने फैसला गरेको थियो ।