• आश्विन ४ २०८१, शुक्रबार

नेपाल घुम्न आए अपाङ्गता भएका १२ सहित ९६ इजरायली, विमानस्थलमा स्वागत

आश्विन २ २०८१, बुधबार

२ असोज, काठमाडौं । अपाङ्गता भएका १२ सहित ९६ इजरायली पर्यटक नेपाल भ्रमणमा आएका छन् । उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । नेपालस्थित इजरायली दूतावासको समन्यवमा नेपाल आएको टोलीलाई मंगलबार राति इजरायली राजदूत होनान गोदर र नेपाल पर्यटन बोर्डका निमित्र् बजार निर्देशक लक्ष्मण गौतमले स्वागत गरे । सालोम राफ्टिङ ट्रेक्स एन्ड एक्सपिडिसन र मास्टर हिमालयले उनीहरूको नेपाल यात्रा संयोजन गरेको हो ।

यी पर्यटक पोखरा, मनाङ र मुस्ताङका विभिन्न क्षेत्र भ्रमणमा जाने उद्देश्यले आएका हुन् । बुधबार काठमाडौंबाट पोखरा पुगेको उक्त टोली बिहीबार पोखराबाट हेलिकप्टर मार्फत मनाङको हुम्दे, त्यसपछि थोरङला पास हुँदै मुक्तिनाथ र जोमसोमबाट पुनः हेलिकप्टर मार्फत पोखरा र पोखराबाट काठमाडौं फर्किने तालिका छ । अपाङ्गता भएका पर्यटक आगमन र उनीहरूले गर्ने साहसिक यात्राले नेपाल साहसिकमात्र नभई अपाङ्गमैत्री पर्यटकीय गन्तव्य पनि हो भन्ने सन्देश प्रवाह गर्ने पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बताए ।

‘हामीले कतिपय स्थानमा अपाङ्गतामैत्री ट्रेल निर्माण गरेका छौं । यस्तै अन्य स्थानमा पनि अपाङ्गतामैत्री पूर्वाधार बनोस् भन्ने कुरामा जोड दिएका छौं,’ जोशीले भने, ‘जसले नेपाल सवलाङ्गका लागिमात्र नभई अपाङ्गता भएकाहरूका लागि पनि राम्रो गन्तव्य हो भन्ने सन्देश प्रवाह गर्ने छ ।’इजरायली पर्यटक टोलीलाई त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा स्वागत गर्दै राजदूत गोदरले इजरायली पर्यटकका लागि नेपाल सुरक्षित र अपाङ्गमैत्री गन्तव्य भएको भन्दै नेपालको सुन्दरताको लाभ लिन आग्रह गरे । ‘नेपाल प्रकृतिको अनुपम उपहार हो ।

यो देश साँच्चिकै सुन्दर छ । यहाँको कला, संस्कृति र परम्परा तथा प्रकृति अनि आतिथ्यले हरेक पर्यटकको मन लोभ्याउँछ,’ उनले भने, ‘विगतका वर्ष नेपाल भ्रमणमा आएका अपाङ्गता भएका पर्यटकको वर्णनका आधारमा अहिले यति पर्यटक नेपाल आएका छन् । यो संख्या आउँदा दिनमा पुनः बढ्ने छ ।’नेपाल र इजरायलबीच लामो समयदेखि घनिष्ठ सम्बन्ध रहँदै आएको चर्चा गर्दै उनले आउने दिनमा यो सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरे ।

पर्यटन बोर्डका निमित्र् बजार निर्देशक गौतमले अपाङ्ता भएका व्यक्तिको नेपाल भ्रमण गर्ने सोच र योजनाले विश्वरभरिका अन्य व्यक्तिलाई समेत प्रोत्साहन मिल्ने बताए । इजरायली दूतावासको समन्यवमा गत वर्ष पनि अपाङ्गता भएका पर्यटकको एक टोलीले नेपाल भ्रमण गरेको थियो । सन् २०२३ मा ६ हजार ४ सय १७ इजरायली पर्यटकले नेपाल भ्रमण गरेका थिए । २०२४ अगस्टसम्म ३ हजार २ सय ५ इजरायलीले नेपाल भ्रमण गरिसकेका छन् ।