• आश्विन ४ २०८१, शुक्रबार

इटहरी उपमहानगरले सुरु गर्याे विद्युतीय बस सेवा

आश्विन २ २०८१, बुधबार

असोज २, काठमाडौं । नगरवासीको सुविधालाई दृष्टिगत गर्दै सुनसरीको इटहरी उपमहानगरपालिकाले चारवटा विद्युतीय बसबाट सेवा सुरु गरेको छ ।

इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलका अनुसार इटहरीका चारवटै क्षेत्रलाई समेटेर बस सञ्चालनको ‘रुट’ तयार गरी सेवा सुरु भएको हो ।

सडक सञ्जाल विस्तार भए पनि इटहरीका सबै क्षेत्रमा सार्वजनिक यातायात नियमित रूपमा उपलब्ध नभएकाले नगरवासीको यात्रालाई सुविधाजनक बनाउने प्रयास स्वरुप सेवा प्रारम्भ गरिएको हो ।

नगर क्षेत्रमा बिहान ७ देखि ११ बजेसम्म र अपराह्न २ देखि साँझ ७ बजेसम्म नियमित सञ्चालन गरिने उक्त सेवाका लागि हाललाई २० रुपैयाँ तोकिएको छ । गत २२ साउनमा ६ करोड ३६ लाख ८६ हजार रुपैयाँमा उपमहानगरपालिकाले बस खरिद गरेको थियो । अपाङ्गता भएका व्यक्तिहरूले पनि यी बसमा सहज रूपमा यात्रा गर्न सक्ने छन् ।