• मंसिर १५ २०८१, शनिबार

एक वर्ष भित्र सबैका घरघरमा विद्युत् पुर्याइने : सिँचाइमन्त्री खड्का

भाद्र २८ २०८१, शुक्रबार

चितवन, २८ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आगामी एक वर्षभित्र सबै जनताको घरमा विद्युतीकरण पुग्ने गरी काम अघि बढाइएको बताएका छन् । आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले विद्युत्को आन्तरिक खपत बढाउन सबै जनताको घरमा विद्युत् सेवा पुर्याउन लागिएको उल्लेख गरे ।

नेपालमा सञ्चालित व्यवसायमध्ये सबैभन्दा बढी आयआर्जन गर्ने विद्युत्सम्बन्धी व्यवसाय भएका भन्दै मन्त्री खड्काले यसको आन्तरिक खपत बढाउन सरकार लागेको बताए । उनले भने, ‘निर्माणको समय भएकाले कहिलेकाही समस्या देखिने गरेको छ ।

यसको समाधान गर्दै आन्तरिक खपत बढाउन सरकार प्रयासरत छ ।’ विद्युत्को उपभोग बढी भन्दाबढी कसरी गर्ने भन्ने विषय सरकार केन्द्रित रहेको उन्को भनाइ छ । हिउँदमा विद्युत् उत्पादन कम हुँदा कहिलेकाही समस्या आउने गरेको मन्त्री खड्काले बताए ।

मन्त्री खड्काले सरकारले डेडिकेटर लाइनको पैसा असुल गर्ने बताए । उनले भने, ‘लाइन काटेर समस्याको समाधान हुँदैन । पैसा असुल गर्ने कानुनी बाटाहरु छन् ।

कानुनमा व्यवस्था गरिएअनुसार रकम असुल गर्नेछौँ ।’  व्यवसायीले विद्युत् प्रयोग गरेबापत राज्यलाई महसुल बुझाउनुपर्नेमा जोड दिँदे उनले अहिले देखिएको विवाद चाँडै टुङ्गो लाग्ने उल्लेख गरे ।