भदौ २५, बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा जापनिज इन्सेफ्लाइटिसको बिरामी फेला परेका छन् । नरैनापुर–१ मतहनियाका नौ वर्षीया बालिकालाई जापनिज इन्सेफ्लाइटिस पुष्टि भएको भेरी अस्पतालकी बालरोग विशेषज्ञ डा. प्रतिमा खड्काले जानकारी दिइन् ।
उनले बिरामीको एक सातासम्म अस्पतालको ‘आईसीयू’मा उपचार भएको र अहिले ती बालिकाको अवस्था सामान्य भएको बताइन् । ‘प्रयोगशाला परीक्षणमा बालिकालाई जापनिज इन्सेफ्लाइटिसको भएको पुष्टि भयो’, उनले भनिन् ।
स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले भेरी अस्पतालमा भर्ना भएकी नरैनापुर–१ मतहनियाका नौ वर्षीया बालिकामा जापनिज इन्सेफ्लाइटिस भएको पुष्टि भएको बताए । ती बालिकालाई जापानी इन्सेफ्लाइटिसविरुद्धको खोप लगाएको वा
नलगाएको बारे पनि थाहा हुन नसकेको जनाइएको छ । जापानी इन्सेफ्लाइटिसबाट जोगिन जन्मेको १२ देखि २३ महिनाभित्र खोप लगाइसक्नुपर्ने प्रावधान रहेको उनले बताए ।
चिकित्सकका अनुसार सुँगुर र चरामा जापनिज इन्सेफ्लाइटिसका भाइरस हुन्छन् । ती जनावरलाई टोकेको क्युलेक्स नाम गरेको लामखुट्टेले मानिसलाई टोकेपछि सङ्क्रमण गराउँछ ।
सो भाइरसले मुख्यतया मस्तिष्कलाई असर पार्ने बताइएको छ । जापनिज इन्सेफ्लाइटिस भइसकेपछि ज्वरो आउने, टाउको दुख्ने, जिउ काम्ने र बान्ता लागेजस्तो लक्षण देखापर्ने भेरी अस्पतालका सूचना अधिकारी डा. सङ्केतकुमार रिसालले बताए ।
यसैबीच भेरी अस्पतालमा झाडाबान्ताका बिरामीका लागि अलग वार्ड स्थापना गरेर उपचारको व्यवस्था गरिएको छ । डा. खड्काका अनुसार यस्ता वार्डमा तीन जना बालबालिकाको उपचार भइरहेको छ । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।