२० भदौ, काठमाडौं। काठमाडौं–१४, कुलेश्वरमा घरेलु कामदारका रूपमा राखिएकी १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेको नाम खुलाइएको छैन । प्रहरी वृत्त, कालीमाटीका डीएसपी रुपक खडकाका अनुसार, घरेलु कामदारको रूपमा राखिएकी बालिकालाई उद्धार गरिएको छ भने ती व्यक्तिलाई प्रहरी कार्यालयमा ल्याएर सोधपुछ भइरहेको छ ।
‘अहिले बालिकालाई उद्धार गरिएको हो, उहाँबारे सोधपुछ भइरहेको छ’, खड्काले भने । प्रहरीका अनुसार, काठमाडौं महानगरपालिकाले राजधानीका विद्यालयहरुमा चलाएको बालश्रम विरुद्धको अभियानका क्रममा पीडित बालिकाले महानगरका कर्मचारीलाई हिंसा भइरहेको बारे बताएकी थिइन् । काठमाडौं महानगरका मेयर बालेन साहको सचिवालयका सदस्य धिरज जोशीका अनुसार, त्यसक्रममा महानगरले प्रहरीसँग समन्वय गरेर बालिकालाई उद्धार गरेको हो ।
‘महानगरको अभियान अन्तर्गत जानकारी आएपछि बाल हेल्पलाइन, बालबालिका खोजतलास तथा समन्वय केन्द्र १०४ र राष्ट्रिय बाल अधिकार परिषद्को संयुक्त अनुगमनका क्रममा उद्धार गरिएको हो’ जोशीले भने, ‘त्यसक्रममा निवासबाट ५४ वर्षीय पुरुषलाई पनि नियन्त्रणमा लिइएको हो ।’ प्रहरीका अनुसार, ती बालिका ६ वर्षदेखि उक्त घरमा घरेलु कामदारको रूपमा बस्दै आएकी थिइन् । उनलाई पढाइदिने शर्तमा काभ्रेको विकट गाउँबाट ल्याएको खुलेको अधिकृतहरुको भनाइ छ ।