ओलम्पिक खेलाडी रेबेका चेप्टेगीको पेट्रोल आक्रमणमा मृत्यु भएको युगाण्डाका अधिकारीहरूले बताएका छन् । उनको शरीरमा प्रेमीले नै प्रेटोल छर्केर आगो लगाइदिएका थिए ।
३३ वर्षीय म्याराथन धावक हालै सम्पन्न पेरिस ओलम्पिकमा सहभागी भएकी थिइन् । आइतबार भएको आक्रमणमा उनको शरीरको अधिकांश भाग जलेको चिकित्सकहरूले बताएका छन् ।
उत्तरपश्चिमी केन्याका अधिकारीहरूले रेबेका चर्चबाट फर्किंदै गर्दा आक्रमण भएको जानकारी दिएका थिए । उनी केन्यामा बस्दै आएकी थिइन् र त्यहाँ प्रशिक्षण पनि लिएकी थिइन् ।
स्थानीय प्रशासनले दर्ता गरेको मुद्दामा खेलाडी र उनका साथीबीच जग्गा विवाद चलिरहेको विषय पनि उल्लेख छ । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । रेबेकाको मृत्युबारे परिवारले कुनै प्रतिक्रिया नदिएको बीबीसीले जनाएको छ ।