• जेष्ठ १ २०८३, शुक्रबार

उदयपुरको सोरुङ छविसेमा पसलभित्रै आमाछोराको हत्या

भाद्र २० २०८१, बिहीबार

भदौ २०, उदयपुर । उदयपुरको कटारी नगरपालिका– १०, सोरुङ छविसेमा आमाछोराको हत्या भएको छ । वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी अन्दाजी ४० वर्र्षीया निर्मला थापा र उनका छोरा अन्दाजी ६ वर्षीय आरुस थापाको बिहीबार बिहान पसलमै शव भेटिएको हो ।

वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार बिहान पसलमा आउने ग्राहकले आमाछोराको शव देखेका थिए । ‘आमाको शव भुइँमा घोप्टो परेको र छोराको खाटमा रगतमा डुबेको अवस्थामा फेला परको हो,’ वडाध्यक्ष खड्काले भने, ‘छोराको शवमा हतियार प्रहार गरेको चोट देखिएको छ ।’

इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक उमेश महतोले घटनाबारे अनुसन्धान सुरु गरिएको बताए । घटनास्थल कटारी बजारबाट ३२ किलोमिटर उत्तरपहाडी भेगमा पर्दछ ।

वडाध्यक्ष खड्काका अनुसार मृतक निर्मला थापाका श्रीमान् अशोक थापा दुई वर्षअघि कान्छी श्रीमती लिएर भारततिर गएका थिए । उनले भने, ‘तीन सय मिटर पर मूल घर थियो । गएराति चाहिँ पसलमै बास बसेका रहेछन, त्यही बेला घटना घटेछ ।’

घटनास्थल पुगेकी कटारी नगरपालिकाकी कार्यपालिका सदस्य गीताकुमारी गिरीले प्रहरी चौकी बतासेबाट प्रहरी आइपुगेको र अनुसन्धान अघि बढेको जानकारी दिइन् । स्थानीय दिपक राउतले बुधबार साँझ ८ बजेसम्म मूल घरका देवरहरूसँग मृतक निर्मलाको फोनमा कुरा भएको बताए ।

‘साना–साना देवरहरू थिए उनीहरूलाई बिहान आउँछौँ भनेका थिए रे,’ राउतले भने, ‘बिहान घरमा खसी काट्ने सल्लाह थियो रे राति हत्या भएछ ।’ बिहान घटनाबारे थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तीज मनाउने तयारीमा रहेको गाउँमा हत्याको घटनापछि स्थानीयवासी शोकमा डुबेका छन् ।