• जेष्ठ १ २०८३, शुक्रबार

आयल निगमको डिपोमा दुई कर्मचारीबीच विवाद, बेल्चाले टाउकोमा हानेर बर्माको हत्या

भाद्र १४ २०८१, शुक्रबार

धनुषा ,१४ भदौ । धनुषाको महेन्द्रनगरमा रहेको नेपाल आयल निगमको डिपोमा कार्यरत एक जना कर्मचारीको हत्या भएको छ ।
शुक्रबार बिहान १० बजे डिपोमा कार्यरत कर्मचारी सिरहा नगरपालिका–३ का ४० वर्षीय राकेशकुमार बर्मा र धनुषाको धनुषाधाम नगरपालिका–४ का ३५ वर्षीय प्रकाश यादवबीच विवाद भएको हो ।

विवादका क्रममा यादवले बेल्चाले टाउकोमा प्रहार गर्दा बर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता एवं डीएसपी निरञ्जन अबाले जानकारी दिए । बेल्चा प्रहार गर्ने यादवलाई इलाका प्रहरी कार्यालय, महेन्द्रनगरले आफ्नो नियन्त्रणमा लिएको छ ।

बर्मा र यादव दुवै आयल निगमका करारका कर्मचारी हुन् । उनीहरूबीचको विवादको कारण भने खुल्न सकेको छैन । बर्माको शव पोस्टमार्टमका लागि जनकपुर प्रादेशिक अस्पताल पठाइएको छ । डिपोका प्रमुख मनोज साहसँग बर्मा र यादवबीचको विवादबारे बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।