परराष्ट्रमन्त्री आरजु राणा देउवाले गौरा पर्वले समाजलाई एक सूत्रमा बाँधेको बताएकी छन् । गौरा पर्व मनाउन परराष्ट्रमन्त्री बुधबार धनगढी पुगेकी छिन् ।
उनले भनिन्, ‘गौरामा परम्परागत गीत खेल्दा या देउडा खेल्दा एक आपसमा हात जोडेर खेलिने हुँदा त्यसले नै सामाजिक एकतालाई जोडेको आभास गराउँछ,’ उनले भनिन्, ‘हरेक वर्ष गौरा पर्व मनाउन धनगढीस्थित घरमा आउने गरेकी छु । गौरा पर्वले समाजलाई एक सूत्रमा बाँधेको छ ।’शनिबारदेखि आफूले गौराको व्रत बसेको बताउँदै उनले कार्य व्यस्तताका कारण यसपटक गौरा विसर्जनका लागि मात्रै धनगढी पुगेको बताइन् ।
मन्त्री राणालाई बुधबार बिहान धनगढी विमानस्थलमा कार्यकर्ता तथा समर्थकले स्वागत गरेका थिए । स्वागतमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह लगायत आर्थिक मामिलामन्त्री बहादुरसिंह थापा, सामाजिक विकासमन्त्री मेघराज खड्का, सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का उपस्थिति भएका थिए ।
मन्त्री राणाले घरमा पुग्ने वित्तिकै गौरादेवीको दर्शन गर्नुका साथै पूजाअर्चना समेत गरेकी थिइन् । उनी निवासमा पुगेपछि कार्यकर्ता तथा समर्थकहरुले डेउडा खेलेका थिए । मन्त्री राणाले पनि डेउडा खेलेकी थिइन् ।