• जेष्ठ १ २०८३, शुक्रबार

राष्ट्रपति रामचन्द्र पौडेल पाल्पामा, रथजात्राको अवलोकन गर्ने

भाद्र ११ २०८१, मंगलवार

राष्ट्रपति रामचन्द्र पौडेल पाल्पा पुगेका छन् । पाल्पाको ऐतिहासिक रणउजीरेश्वरी भगवती रथजात्रा अवलोकन गर्न मंगलबार पाल्पा आएका राष्ट्रपति पौडेललाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरे ।राष्ट्रपतिलाई जनस्तरबाट समेत स्वागत गरिएको छ । जात्रामा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे एवं रक्षामन्त्री मानवीर राईसमेत पाल्पा पुगेका छन् ।

तानसेनस्थित ऐतिहासिक रणउजीरेश्वरी भगवती मन्दिरमा हरेक वर्ष भगवती रथयात्रा हुने गरेको छ । लुम्बिनी प्रदेश सरकारले भगवती यात्राको दिन पाल्पा जिल्लामा सार्वजनिक बिदा दिएको छ । नेपालले अङ्ग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा हरेक वर्ष कृष्ण जन्माष्टमीको अर्को दिन धुमधामका साथ विजय उत्सवस्वरुप रणउजीरेश्वरी भगवतीको रथ जात्रा निकाल्ने प्रचलन रहँदै आएको छ ।

तत्कालीन समयमा नेपाली सेनाले चलाएको उक्त विजयी जात्रा हालसम्म आइपुग्दा पाल्पाको सबैभन्दा ठूलो पर्व र जात्राको रूपमा परिचित छ । कर्णेल उजीर सिंह थापाले वि।सं। १८७६ मा निर्माण गरेको रथलाई नै हालसम्म विजय जात्राको रूपमा सञ्चालन गरिँदै आइएको छ ।