घाँटीमा केही अड्किएको जस्तो हुनुका कारण यस्ता छन् ः
रिफ्लक्स डिसअर्डर : यसमा सामान्यतया छाती पोल्नु, छातीमा अप्ठेरो, पेट भरिएको वा घाँटीमा केही अड्किएको महसुस हुन्छ ।
घाँटी वा नाकको एलर्जी: केही खानेकुरा, वातावरणीय तत्वहरू जस्तै धुलो, परागकण, घरको ढुस्सी, केही औषधिहरू आदिले घाँटी वा नाकको एलर्जी हुनसक्छ । जुन घाँटीमा बाहिरी वस्तुको प्रवेशका कारण सनसनीको रूपमा देखा पर्न सक्छ। यसले गर्दा व्यक्तिलाई घाँटीमा खसखस भइरहन्छ र सफा गरिरहने मन लाग्छ ।
ग्लोबस: यसलाई ग्लोबस फ्यारेन्जियस वा ग्लोबस हिस्टेरिकस पनि भनिन्छ । यो एक प्रकारको सनसनी हो जहाँ व्यक्तिलाई घाँटीमा गाँठो भएको महसुस हुन्छ । तर जाँच गर्दा त्यहाँ केही पनि हुँदैन। यसको ठोस कारण निर्क्योल गर्न गाह्रो छ । कोही-कोहीलाई यो खाना निल्न सहयोग गर्ने मांसपेशीहरूको असंगतिको कारणले हुनसक्छ भन्ने विश्वास राख्छन् । यो रिफ्लक्स रोगको कारणले हुनसक्छ ।धेरै मानिसहरूमा भने तनावले पनि यस प्रकारको सनसनी उत्पन्न गराउँछ र झनै खराब बनाउँछ। यसले सामान्यतया निल्ने प्रक्रियामा कुनै परिर्वतन वा हस्तक्षेप गर्दैन। सामान्यतया यो गम्भीर नभए पनि यसले क्यान्सरको डर भएका मानिसहरूमा मानसिक आतंक भने ल्याउन सक्छ। त्यसैले गम्भीर समस्याहरू समाधान गर्न चिकित्सकसँग नै भेटेर सल्लाह लिनु उचित हुन्छ ।
घाँटीको क्यान्सर: यो सामान्यतया घाँटीमा गाँठोको अनुभूतिसाथ प्रस्तुत हुन्छ। यो निल्न कठिनाइ वा निल्न दुखाइ, आवाजमा परिवर्तन, घाँटी दुखाइ र घाँटीको मांसपेसीसँग सम्बन्धित हुनसक्छ।
क्यान्सर रोकथामबारे सचेतना, प्रारम्भिक पहिचान र प्रभावकारी उपचार नै यसप्रकारको समस्या समाधानको पहिलो लक्ष्य हो । त्यसैले सचेत बनौं र शंकाको अवस्थामा सकेसम्म चाँडो एक विशेषज्ञलाई देखाउँ र कुनैपनि शंका छ भने त्यसलाई हटाएर र स्वस्थ र सुखी जीवन बिताउँ ।
-डा. दुबे फ्रन्टलाइन अस्पतालमा कार्यरत नाक, कान, घाँटी (ईएनटी) क्यान्सर शल्यचिकित्सक हुन् ।