• जेष्ठ १ २०८३, शुक्रबार

आचार्य कृष्णबहादुर दमाईलाई धनगढी उपमहानगरपालिकाले जागिर दिने

भाद्र ८ २०८१, शनिबार

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले आचार्य कृष्णबहादुर दमाईलाई सम्मान गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गर्दै उपमहानगरले आचार्य दमाईलाई नगदसहित सम्मान गरेको हो ।

उपमहानगरपालिकाका मेयर गोपाल हमालले आचार्य दमाईलाई सम्मानपत्र र एक लाख ५१ हजार नगद हस्तान्तरण गरे । आचार्य दमाईलाई बाजागाजासहित नगरसभा हलमा मेयर हमाल र कार्यपालिका सदस्य तथा कर्मचारीहरूले स्वागत गरेका थिए ।

संस्कृतमा आचार्य गरेका दमाई आर्थिक अभावले समस्यामा परेको खबर सुनेपछि नगदसहित सम्मान गरिएको उपमहानगरका मेयर हमालले बताए । ‘सामाजिक सञ्चाजलमा आचार्यज्यू आर्थिक समस्यामा परेको र रोजगारीको खोजीमा रहेको खबर आएका थिए,’ हमालले भने, ‘उहाँलाई केही सहयोग पुगोस् भन्ने उद्येश्यले आज यो कार्यक्रम राखेका हौं ।’

मेयर हमालले आचार्य कृष्णलाई धनगढी उपमहानगरमा जागिर दिने पनि घोषणा गरेका छन् । ‘उहाँले जागिर पाए जीवनयापन गर्न सहज हुने बताउनुभएको छ,’ उनले भने, ‘उहाँको योग्यताअनुसार उपमहानगरपालिका जागिर दिन तयार छ ।’

कञ्चनपुरको भीमदत्त नगरपालिका–३ घर भएका दमाईले नेपाल संस्कृत विश्वविद्यालयबाट संस्कृत साहित्यमा आचार्य गरेका हुन् । सिल्पी समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाई नेपालकै पहिलो व्यक्ति हुन् ।