• जेष्ठ १ २०८३, शुक्रबार

‘सूचनाको दुरुपयोग भए ठूलो क्षति हुन्छ’

भाद्र ७ २०८१, शुक्रबार

तुलसीपुुर (दाङ), ७ भदौ । उच्च अदालत तुलसीपुरका मुख्यन्यायाधीश नित्यानन्द पाण्डेयले सूचनाको दुरुपयोग भए ठूलो क्षति हुने भएकाले सचेत रहन सञ्चारकर्मीलाई आग्रह गरेका छन् । आज यहाँ आयोजित एचआर मिडिया प्रालिको प्रथम वार्षिकोत्सव कार्यक्रममा उनले सूचना तथा सञ्चारको भूमिका फराकिलो र शक्तिशाली भएकाले यसलाई सही सदुपयोग गरेमा मुलुकलाई समृद्धिको मार्गमा लैजान सघाउ पुग्ने धारणा राखे ।

“एउटा हतियारको दुरुपयोग भयो भने त्यसले जति क्षति पुर्याउँछ, सूचनाको दुरुपयोगले त्योभन्दा बढी क्षति हुन्छ । त्यसैले सूचनाको सही सदुपयोग गर्नुपर्छ”, मुख्यन्यायाधीश पाण्डेयले भने । सञ्चारमाध्यमले गुण र दोषका आधारमा समाचार सम्प्रेषण गर्नुपर्ने उनको भनाइ थियो । तुल्सीपुर उपमहानगरपालिका कार्यवाहक प्रमुख भीमबहादुर योगीले सञ्चार क्षेत्र विकासको बाटो देखाउने माध्यम भएकाले समाजलाई सही मार्गमा डोर्याउने गरी सञ्चारमाध्यमले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

यस्तै, कपुरकोट गाउँपालिकाका अध्यक्ष प्रकाश भण्डारीले पछिल्लो समय डिजिटल सञ्चारमाध्यमको युग रहेको अवस्थामा मर्यादित पत्रकारिता गर्नतर्फ अनलाइन सञ्चारमाध्यम लाग्नुपर्ने बताए ।