टिकटकले नेपालमा लगाइएको प्रतिबन्ध खुलाउने सरकारको निर्णयको स्वागत गरेको छ।टिकटकका प्रवक्ताले विज्ञप्ति जारी गरी प्रतिबन्ध हटाउने नेपाल सरकारको निर्णयको स्वागत गर्दै आफूहरू उत्साहित भएको बताएका हुन्। ।
‘यसका लागि हामी फलदायी संवादमा नेपाल सरकारको निरन्तरको प्रतिबद्धताको कदर गर्छौं। नेपाली जनमानसको डिजिटल अनुभवको लागि उहाँहरूले दिनुभएको चासोलाई हामी सम्मान पनि गर्दछौं,’विज्ञप्तिमा भनिएको छ ।टिकटकको रचनात्मकता र जोशले नेपाली घरपरिवारमा आनन्दको सञ्चार गर्नुका साथै प्रतिभाशाली क्रियटर र व्यवसायहरूका लागि महत्त्वपूर्ण अवसरको ढोका खोलेको पनि विज्ञप्तिमा उल्लेख छ ।
‘हामी नेपालीहरूको उन्मुक्त आवाज बन्न र सृजनशीलताको साझा मञ्चलाई निरन्तरता दिन पाउँदा उत्साहित छौं। किनकी हामीले नेपालको सफलताको कथालाई सधैंभरि समर्थन गरिरहेका छौं,’ विज्ञप्तिमा भनिएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथिको प्रतिबन्ध शर्तसहित खोल्ने निर्णय गरेको थियो। अघिल्लो वर्ष कात्तिकमा सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।