काठमाडौँ, ६ भदौ । प्रतिनिधिसभामा दुई विधेयक प्रस्तुत भएका छन् । सभाको आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक २०८१’ र ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ पेस गरे। त्यसअघि बैठकले ती दुई विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेकाे विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो ।
उक्त विरोधको सूचनाका सम्बन्धमा वक्तव्य दिँदै अर्थमन्त्री पौडेलले धितोपत्र बजारलाई व्यवस्थित बनाउन संशोधन विधेयक प्रस्तुत गरिएको स्पष्ट पार्नुभयो । उनले आर्थिक कार्यविधिलाई उत्तरदायी बनाउँदै आर्थिक अनुशासन कायम गर्न आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक संशोधन गर्न लागिएको जानकारी गराए । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ ११ गते मङ्गलबार अपराह्न १ बजे बस्नेछ ।