• जेष्ठ १ २०८३, शुक्रबार

मन्त्रिपरिषद् बैठक बस्दै, टिकटकमाथिको प्रतिबन्ध के होला ?

भाद्र ६ २०८१, बिहीबार

काठमाडौं ।  आज अपराह्न ५ बजे मन्त्रिपरिषद्को बैठक  बस्दैछ।  बैठकले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गर्न लागेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हिजो मन्त्रिस्तरीय निर्णय गरेर टिकटक खोल्ने प्रस्ताव आजको मन्त्रिपरिषद् बैठकमा पेश गर्ने जनाइएको छ।

प्रतिबन्ध हटाउनेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चासो राख्दै त्यसबारे आवश्यक छलफल गर्न सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई निर्देशन दिएका थिए।

टिकटकले सञ्चारमन्त्री गुरुङलाई सम्बोधन गरेर प्रतिबन्ध फुकुवा गरिदिन अनुरोध गर्दै पत्र लेखेको थियो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार प्रतिबन्धपछि त्यसलाई हटाउन टिकटकले हालसम्म कैयौँ पत्रहरू पठाइसकेको छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको  सरकारले सामाजिक सद्भाव र वातावरणमा खलल पुर्‍याउन भूमिका खेलेको भन्दै गत वर्षको कातिक २७ गते नेपालमा उक्त एपमाथि प्रतिबन्ध लगाएको थियो।