• जेष्ठ १ २०८३, शुक्रबार

महावाणिज्य दूतावास बन्द हुँदा पोर्चुगलका नेपाली समस्यामा

भाद्र ४ २०८१, मंगलवार

लिस्बन (पोर्चुगल), ४ भदौ । पोर्चुगलको राजधानी लिस्बनस्थित अवैतनिक महावाणिज्य दूतावास बन्द हुँदा यहाँ रहेका नेपालीले समस्या खेप्नुपरेको छ । महावाणिज्य दूतावास बन्द हुँदा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लगायतका कागजात प्रमाणीकरणमा सास्ती खेप्नुपरेको पोर्चुगलवासी नेपालीले गुनासो गरेका छन् ।

उनीहरूले पोर्चुगलमा दूतावास स्थापना नभएसम्मका लागि लिस्बनबाटै कागजात प्रमाणीकरण लगायतका कन्सुलर सेवा सञ्चालन गर्न माग गरेका छन् । कागजात प्रमाणीकरणको समस्याले पोर्चुगल बसाइको वैधानिकताको प्रक्रियामा रहेका हजारौँ नेपाली प्रभावित भएका छन् । लिस्बनबाटै प्रवाह हुँदै आएको सेवा बन्द भएपछि विशेषतः यहाँको आवास अनुमतिपत्र (रेसिडेन्सी कार्ड) का लागि आप्रवासी मामिला हेर्ने निकाय (आइमा) मा बायोमेट्रिकको तयारीमा रहेका नेपाली बढी मारमा परेका छन् ।

यहाँको कागजी प्रक्रियाको प्रयोजनका लागि नेपालबाट ल्याइने प्रहरी चारित्रिक प्रमाणपत्र, जन्मदर्ता, नाता प्रमाणित, विवाह दर्ता लगायतका कागजात प्रमाणीकरणको सेवा लिस्बनबाट नपाउँदा यहाँ रहेका नेपालीले सास्ती भोग्नुपरेको हो । महावाणिज्य दूतावास बन्द हुँदा कागजात प्रमाणीकरणका लागि समस्या झेल्नुपरेको इलामका हरिबहादुर मुखियाले बताए ।

आवास अनुमतिपत्रका लागि पेस गर्नुपर्ने प्रहरी रिपोर्टको प्रमाणीकरणको झन्झटले तनाव बनाएको मुखियाले गुनासो गर्नुभयो । “यही सेप्टेम्बरको पहिलो साता मेरो बायोमेट्रिक छ । मेरा धेरै साथीहरूको पनि यही सेप्टेम्बरमै बायोमेट्रिक छ । दुई वर्षदेखि कार्डको पर्खाइमा थिए । अब त कार्ड बन्ने भयो भनेर खुसी भएको कागजात प्रमाणीकरणको झमेलाले हैरानी खेप्नुपरेको छ”, मुखियाले रासससँग दुःख व्यक्त गर्नुभयो ।

उनले थप भने, “अहिले नेपाली दूतावास पेरिसले प्रमाणीकरण गरिदिने भएपछि केही राहतको अनुभूति गरेको छु । दस्तुर त साह्रै महँगो रहेछ । १२ युरोमा हुने कामको लागि एक सय युरो तिर्नुपर्ने भएछ । प्रमाणीकरण भएपछि फेरि मगाउनु पर्यो । त्यसमाथि कुरियर खर्च पनि थपिने भयो । साह्रै झन्झट हुने भयो ।” बुटवलका हरिप्रसाद पाण्डेको समस्या पनि उस्तै छ ।

फ्रान्स हुँदै दुई वर्षअघि पोर्चुगल आउनुभएका पाण्डेको पनि यही सेप्टेम्बरमा बायोमेट्रिकको मिति तय भएको छ । पेस गर्नुपर्ने सबै कागजपत्र तयार भए पनि प्रहरी चारित्रिक प्रमाणपत्रको प्रमाणीकरण रोकिँदा दुई साता रनभुल्लमै बितेको पाण्डेले सुनाए । “प्रमाणीकरणको काम रोकिएपछि नेपालबाट मगाएको प्रहरी रिपोर्ट दुई सय युरो खर्चेर केही दिनअघि दलालमार्फत भारत पठाउन बाध्य भए ।

रू दुई हजारमा हुने कामलाई रू ३५ हजार खर्च गर्नुपर्यो । यो त साह्रै झन्झटिलो र खर्चिलो भयो । त्यसमाथि प्रमाणीकरणको तनावले हैरानी खेप्नुपर्यो । वाणीज्य दूतावास बन्द हुँदा हामीले पो सास्ती भोग्नुपर्‍यो,” आफ्ना पीडा सुनाउँदै पाण्डेले भने ।