काठमाडौँ, ३ भदौ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा पर्व आज स्नान गरी नयाँ यज्ञोपवीत (जनै) धारणसहित डोरो बाँधेर मनाइएको छ । श्रावण महिनामा गरिने स्नान भएकाले यो पर्वलाई श्रावणी स्नान पनि भनिन्छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, बिचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा यो पर्व मनाउन सुुरु गरिएको हो ।
यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले बताउनुभयो ।
मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको नाडीमा बाँधिदिएका छन् । स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिएको छ ।
आजको दिन सप्तऋषिहरु काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वमित्रलाई तर्पण दिने गरिन्छ । ऋषिलाई तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो । आजै मन्त्रिएको जनै फेर्ने गरिएकाले नै श्रावण शुक्ल पूर्णिमालाई जनैपूर्णिमा पनि भनिन्छ ।वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोका रुपमा मानिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका रुपमा पूजिन्छ ।
अर्को डोराको तीनवटा शिखालाई भने कर्म, उपासना र ज्ञानको त्रियोगका रुपमा लिइन्छ । आजका दिन ११ थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारी क्वाँटी बनाएर खाने चलन छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने मान्यता छ ।