• जेष्ठ १ २०८३, शुक्रबार

सहकारीको रकम दुरुपयोग छानबिन गर्न गठित समिति अब प्रतिवेदन लेखनमा केन्द्रित हुने

भाद्र १ २०८१, शनिबार

काठमाडौं । सहकारीको बचत रकम दुरुपयोग बारे संसदीय छानबिन विशेष समिति प्रतिवेदन लेखनमा केन्द्रित हुने भएको छ । समितिको बैठक शनिबार पनि बसेको थियो । सिंहदरबारमा बसेको बैठकपछि सञ्चारकर्मीसँग समितिका सभापति सूर्य थापाले यस्तो बताएका हुन् ।

सोधपुछको कार्य अन्तिमतिर आइपुगेको भन्दै उनले समिति अब प्रतिवेदन लेखनको काममा लाग्ने उल्लेख गरे । विभिन्न मुद्दामा कारागारमा रहेका सहकारीका सञ्चालकसँग बयान लिने काम लगभग सकिएको उनले जानकारी दिए ।

शनिबारको बैठकमा नख्खु कारागारमा रहेका कृषि विकास बहुउद्देश्य सहकारी संस्था तथा कृषि विकास बचत तथा ऋण सहकारी संस्थाका ललितपुर र भक्तपुरमा कार्यक्षेत्र भएका दुई संस्था सञ्चालन गर्दै आएका तेजविक्रम थापालाई बोलाएर सोधपुछ गरिएको उनले बताए ।

उनले समितिले धरान उपमहानगरपालिकाको नियमनमा रहेको बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मानबहादुर विश्वकर्मासँग पनि सोधपुछ गरेको जानकारी गराए ।