भक्तपुर, ३२ साउन । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिनुभएको छ । गृहमन्त्रीको निर्देशनपछि प्रहरीमार्फत घटनास्थलको सिसिटिभी फुटेज बाहिरिएको छ ।
बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघर चोक नजिकै ना. ६ ख. २१७३ नम्बरको ट्रकले बा. ३९ प. ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गा चिशंखुगढी गाउँपालिका‐४ छहरे स्थायी घर भई हाल काठमाडौँ कपनमा बस्दै आउनुभएका ६५ वर्षीय उत्तम कोइरालाको मृत्यु भएको ‘फुटेज’ बाहिरिएको हो ।
उक्त ‘फुटेज’ हेर्दा ट्रक चालक मुख्य दोषी रहेको पाइएको छ । घटनास्थलबाट फरार भएका ट्रक चालक सर्लाही मलङ्गवा नगरपालिका‐२ बस्ने ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई बिहीबार साँझ काठमाडौँको नयाँ बानेश्वर वृत्र् तीनकुनेले पक्राउ गरी प्रहरी वृत्र् ठिमीको जिम्मा लगाएको छ । सिसिटिभीफुटेजमा यस्तो देखियो ।
सार्वजनिक भएको सिसिटिभीफुटेजमा कौशलटारबाट गठ्ठाघरतर्फ आउने सडकमा सवारी चेकिङ्गका लागि उभिएका ट्राफिक प्रहरी देखिन्छन् । त्यही क्रममा केही सवारीसाधन आइरहेका छन् । दुर्घटनामा परेको स्कुटर पनि आइरहेको देखिन्छ । स्कुटरले गति कम गरेसँगै तीव्रगतिमा आएको ट्रकले ट्राफिक चेकिङ्ग अगाडि नै दायाँतर्फबाट ठक्कर दिन्छ र घिसार्दै पर लैजाँदा दुर्घटनाग्रस्त स्कुटर ट्रकको बायाँतर्फ आइपुग्छ । ट्रकको चक्कामुनि स्कुटर पर्छ ।
उद्धारका लागि सडकमा रहेका ट्राफिक प्रहरी पुग्छन् । यो दृश्यले ट्रक चालकको ठूलो लापार्बाहीका कारण घटना भएको देखिन्छ । जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजन कार्कीका अनुसार घटना भएको समयमा अन्य दिनमा जस्तै नियमित रुपमा ट्राफिक चेकिङ्ग भए पनि दुर्घटनाग्रस्त स्कुटर र ट्रकलाई रोकेको देखिँदैन ।
यसमा ट्राफिक प्रहरीको गल्ती नभएको उहाँको भनाइ छ । प्रहरीले सञ्चारमाध्यमलाई सूचना नदिँदा समस्या दुर्घटना भएलगत्तै शवको दर्दनाक अवस्था देखेर आक्रोशित भीडले ट्राफिक प्रहरीको चेकिङ्गले दुर्घटना भएको भन्दै जाइलाग्यो । ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई केही व्यक्तिले कुटपिट गरेको, पोशाक च्यातेर आक्रमण गरेका थिए ।
केही व्यक्तिले घरभित्र र होटलभित्र पसेका ट्राफिक प्रहरीसमेतलाई बाहिर निकालेर हातपात गरेका थिए । ट्रकमा तोडफोड गरिएको थियो । आगजनी गर्ने तयारीसमेत भएको अवस्थामा प्रहरीले स्थिति नियन्त्रणमा लिन खोज्दा दोहोरो झडप भइ स्थिति तनावग्रस्त बने पनि सञ्चार माध्यमलाई भक्तपुर प्रहरीले कुनै जानकारी नदिँदा भ्रमपूर्ण सूचना फैलियो ।
घट्नाबारे विभिन्न सञ्चारमाध्यमले जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक बेद विष्टलाई पटकपटक फोन गरेर जानकारी लिन खोजे । विष्टले फोन नउठाएपछि सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजन कार्की र ठिमी वृत्तका डिएसपीसँग पटकपटक फोन गर्दा मोबाइल नउठाएपछि कतिपय सञ्चारमाध्यमले स्थानीयको भनाइलाई आधार मान्दै समाचार सम्प्रेषण गर्न बाध्य भए । जसका कारण गलत सूचना सम्प्रेषण भयो ।