• जेष्ठ २ २०८३, शनिबार

शिक्षिका सावित्रादेवीको पहिराले पुरिएर मृत्यु

श्रावण ३१ २०८१, बिहीबार

खोटाङ, ३१ साउन । रावाबेँसी गाउँपालिका–३ लामीडाँडामा सञ्चालित विश्वज्योति माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका सावित्रादेवी नेवारको पहिराले पुरिएर मृत्यु भएको छ । लामीडाँडास्थित आफ्नै घरबाट विद्यालय जाने क्रममा वडा कार्यालय नजिकै सडकमाथिबाट झरेको पहिराले पुरिनुभएकी ५७ वर्षीया शिक्षिका सावित्रादेवीको घटनास्थलमै मृत्यु भएको हो ।

विद्यालय पुग्न करिब एक सय ५० मिटर टाढाको सडकमाथिबाट झरेको पहिराले पुरिनुभएकी शिक्षिका सावित्रादेवीलाई स्थानीय बासिन्दा र प्रहरीले उद्धार गर्नेक्रममा डेढ घण्टापछि मृत फेला पारेको लामीडाँडाका वडाध्यक्ष वीरेन्द्र मगरले जानकारी दिनुभयो । “घटना भएको ठाउँमा निरन्तर पहिरो झरिरहन्थ्यो ।

उहाँ (शिक्षिका सावित्रादेवी नेवार) त्यही सडक भएर विद्यालय आवतजावत गर्नुहुन्थ्यो । आज उहाँ विद्यालय जाँदै गर्दा सडकमाथिबाट झरेको पहिराले पुरिनुभएको रहेछ”, उहाँले भन्नुभयो, “घटना भए लगत्तै स्थानीय बासिन्दा र प्रहरी उद्धारमा खटाइयो । तर, उहाँलाई जीवितै उद्धार गर्ने प्रयास सफ भएन । डेढ घण्टापछि पहिरो पन्छाएर उहाँको मृत शरीर फेला  पार्याै‌‍ ।”

पहिरामा शिक्षिका सावित्रादेवीभन्दा अगाडि पछाडि सँगसँगै यात्रामा रहेका भागेर ज्यान बचाउन सफल भएको प्रत्यक्षदर्शीले बताएका छन् । वडा कार्यालयभन्दा उत्तरतर्फ लामीडाँडा विमानस्थल र रभुँवाघाट जाने दुई वडा सडकमध्ये लामीडाँडा विमानस्थल जाने सडकमुनिबाट झरेको पहिराले रभुँवाघाट जाने सडक पुरिँदा घटना भएको वडाध्यक्ष मगरले जानकारी दिनुभयो ।

विद्यालय जाँदै गर्नुभएकी शिक्षिका सावित्रादेवीको पहिराले परिएर मृत्यु भएपछि पठनपाठन अवरुद्ध भएको छ । पहिराले पुरिएर ज्यान गुमाउनुभएकी शिक्षिका सावित्रादेवीको शव सर्जमिन मुचुल्का गरेर परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो ।