• जेष्ठ २ २०८३, शनिबार

दोस्रो विश्वयुद्धपछि पहिलोपटक रुसले गुमायो जमिन

श्रावण ३० २०८१, बुधबार

युक्रेनविरुद्धको युद्धका क्रममा रुसले दोस्रो विश्वयुद्धपछि पहिलोपटक आफ्नो जमिन गुमाउन पुगेको छ । युक्रेनले रुसको कुस्र्क क्षेत्रमा ७४ वटा गाउँ कब्जा गरेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।

जेलेन्स्कीले युक्रेनी सेना अघि बढिरहेको र रुसी सेनालाई पक्राउ गरेको बताएका छन् । रुसको कब्जामा गएको डोनबास क्षेत्रभन्दा उत्तरी क्षेत्रबाट युक्रेनले अचानक हमला गरेपछि कुस्र्क क्षेत्रमा २ लाखभन्दा बढी रुसी जनतालाई सुरक्षित स्थानमा सारिएको छ ।

युक्रेनले ६ अगस्टदेखि रुसी क्षेत्रमा हमला सुरु गरेको हो । युक्रेनी हमलापछि रुसले पनि यो क्षेत्रमा सैनिकको तैनाथी बढाएको छ । १३ अगस्टसम्म रुसको १ हजार वर्गकिलोमिटर जमिन युक्रेनको नियन्त्रणमा गएको दाबी गरिएको छ ।

२४ फेब्रुअरी, २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेको ९ सय दिन पूरा भएको छ । युद्ध सुरु भएको साढे २ वर्षपछि पहिलोपटक युक्रेनले रुसी भूमिमा युद्ध गरेको हो ।

अमेरिकास्थित इन्स्टिच्युट फर द स्टडी अफ वार (आईएसडब्लू) का अनुसार रुसले २०२४ मा युक्रेनको १ हजार १७५ वर्गकिलोमिटर क्षेत्रमा कब्जा गरेको छ । जारी युद्धका क्रममा युक्रेनको १ लाख वर्गकिलोमिटर इलाकामाथि रुसी नियन्त्रण छ । यो युक्रेनको कुल जमिनको १८ प्रतिशत हो ।

युक्रेनले सुरु गरेको पछिल्लो युद्धमा कब्जा गरेको रुसी जमिन रुसले कब्जा गरेको तुलनामा १ प्रतिशतभन्दा कम हो । युक्रेनी हमलामा १२ जना रुसी नागरिक मारिएका छन् भने १२१ जना घाइते भएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार मात्रै कुस्र्कका स्थानीय नेता तथा अधिकारीहरूसँग बैठक गरेका थिए । उनले युक्रेनी हमला भड्काउपूर्ण भएको भन्दै रुसी इलाकाबाट युक्रेनी सेनालाई लखेट्न आदेश दिएका छन् ।

पुटिनले युक्रेनले रुसी इलाका कब्जा गरेर युद्धविरामका लागि आफ्नो पक्ष बलियो बनाउन चाहेको तर रुसले कुनै सम्झौता नगर्ने बताएका छन् । उनले युक्रेनले आफ्ना नागरिकको हत्या गरेको र परमाणु प्लान्टनजिकै आक्रमण गरेको बताएका छन् ।

न्युयोर्क टाइम्सका अनुसार युक्रेनले आफ्नो अभियान गोप्य राख्दै जंगलमा हतियार लुकाएको थियो । रुसमाथिको आक्रमणको तीन दिनअघि मात्रै बैठक बसेर सैनिकहरूलाई १ दिनअघि मात्रै जानकारी गराइएको थियो ।

युक्रेनी हमलापछि रुसले पनि आफ्ना परमाणु हतियार चलाउने अभ्यास गरेको छ भने बाल्टिक सागरको क्षेत्रबाट कुस्र्कतर्फ सेना ल्याएको छ ।

युक्रेन दक्षिणी क्षेत्रमा केन्द्रित भएका बेला युक्रेनले उत्तरी क्षेत्रबाट हमला गरेको हो । रुसी सैनिकको तैनाथी बढेसँगै यो क्षेत्र युद्धको नयाँ अखडा बन्ने देखिएको छ ।