काठमाडौं । लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले आन्दोलन र अनशनका नाममा बारम्बार आफ्नो चरित्र हत्या गरिएको बताएका छन् । बाँकेको नेपालगन्ज–१७ की निर्मला कुर्मीको अपहरण गरी हत्या गरिएको र उनको सम्पत्ति हत्याएको भन्दै अधिकारकर्मीहरूले चौथोपटक काठमाडौंमा धर्ना दिइरहेका छन् ।
उनीहरूले यसअघि २०७८ असोज र मंसिर, ०७९ को पुसमा बादशाह कुर्मीमाथि अनुसन्धान हुनुपर्ने भन्दै धर्ना दिएका थिए । पछिल्लोपटक बादशाह लुम्बिनी प्रदेशको मन्त्री नियुक्त भएपछि अधिकारकर्मीले उनलाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने र निर्मला कुर्मीको मुद्दा अदालतमा पुर्याउनुपर्ने माग राखिरहेका छन् । बादशाह कुर्मीले भने आफू निर्दोष रहेको दाबी गरेका छन् ।
उनी भन्छन्, “निर्मला कुर्मीको मृत्यु र उनको सम्पत्तिका विषयमा राज्यले ममाथि पाँचपटक अनुसन्धान गरिसकेको छ । अनुसन्धान गरेर मलाई हाजिरी जमानीमा छाडेको छ । म निर्दोष भएकै कारण त हाजिरी जमानीमा छाडेको हो ।” ०७८ भदौमा उनी हाजिरी जमानीमा छुटेका थिए । आन्दोलन र धर्नाका नाममा आफ्नो चरित्र हत्या गर्दै राजनीतिक प्रतिशोध साँध्ने गरिएको उनी दाबी गर्छन् ।
“म जतिखेर कुनै पदमा जान्छु, त्यतिखेर यो विवाद झिकेर मेरो चरित्र हत्या गर्छन् । ममाथि राजनीतिक बदला लिन्छन्,” उनले भने । मृतक निर्मला कुर्मी बादशाहकी छिमेकी हुन् । बादशाहले उनलाई काकी भनेर सम्बोधन गर्थे । २०६२ मा निर्मलाका श्रीमान् र २०६६ को मंसिरमा दुई छोराको मृत्यु भएको थियो ।
दुई छोराको मृत्युमा पनि बादशाहको भूमिका रहेको अधिकारकर्मीको दाबी छ । तर, बादशाह भने आफू त्यतिखेर नेपालगन्जमा नभएको दाबी गर्छन् । “उनका दुई छोराको मृत्यु हुँदा म काठमाडौंमा थिए । मैले त छोराहरूको मृत्यु भएको कुरा गाउँ गएर थाहा पाएको हुँ,” उनले भने । श्रीमान् र छोरा गुमाएपछि सम्पत्तिको सुरक्षाका लागि आफूले निर्मलाको लालपुर्जा र नागरिकता राखिदिएको बादशाहले सुनाए ।
“अनेक मान्छेले निर्मलाको सम्पत्ति खान खोजेपछि मैले सुरक्षित राख्न भनेर लालपुर्जा लगेको हुँ । पछि ती कागजात मैले जिल्ला प्रशासन कार्यालयको रोहबरमा निर्मलालाई बुझाएको हुँ,” उनले भने । जिल्ला प्रशासन कार्यालयको रोहबरमा सम्पत्तिका कागजात बुझेपछि निर्मला हराएकी थिइन् ।
सम्पत्तिको सुरक्षा गर्न लालपुर्जा लिनु नै आफ्नो गल्ती भएको उनको भनाइ छ । “त्यही लालपुर्जा र नागरिकता राखेबापत यत्रो आरोप खेपिरहेको छु । मैले एक टुक्रा जमिन पनि लगेको छैन,” उनले भने । आन्दोलन गर्ने र धर्ना गर्नेहरूले नै यो मुद्दा अगाडि बढ्नबाट रोकेको बादशाहको आरोप छ । “धर्ना बस्नेले जे भन्यो त्यही त हुँदैन होला नि,” उनले भने, “आन्दोलन र धर्ना बस्नेहरूले नै यो मुद्दा अगाडि बढ्नबाट रोकिरहेका छन् ।”