काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राजनीतिक दलको सदस्यता नत्याग्ने शिक्षकलाई कारबाही गरिने बताएकी छिन् । त्यसको लागि सार्वजनिक रूपमा आह्वान गरिएको र त्यस्ता शिक्षकहरूका बारेमा सूचना दिन आह्वान गरिएको बताइन् ।
कार्यभार सम्हालेको एक महिना पुगेको अवसरमा आयोजित पहिलो पत्रकार सम्मेलनमा उनले शिक्षकहरूलाई राजनीतिक दलको सदस्यता त्याग गर्न आग्रह गरिएको बताइन् ।
‘शिक्षालाई दलीय राजनीतिबाट मुक्त बनाउन राजनीतिक दलमा आवद्ध शिक्षकलाई दलीय सदस्यता त्याग्न आह्वान गरेका छौं । जनतालाई दलमा सक्रिय शिक्षकबारे उजुरी गर्न सार्वजनिक आह्वान गरेका छौं । र कारबाही गर्न कार्यविधि बारे स्पष्टता ल्याइएको छौँ’ उनले भनिन् ।
त्यस्तै शिक्षा ऐन, २०२८, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ ले समेत शिक्षकलाई दलको सदस्य बन्न नपाउने व्यवस्था गरेको छ ।
त्यस्तै उच्च अदालत पाटनको २०७८, मङ्सिर १९ गतेको राजनीतिक दलमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयलाई आदेश दिएको थियो । विविध कारणले पनि राजनीतिक दलको सदस्यता लिने शिक्षकलाई कारबाही गरिने बताएकी हुन् । मन्त्री श्रेष्ठले पहिलो निर्णय नै शिक्षालाई दलीय राजनीति मुक्त क्षेत्र बनाउन ‘विश्वविद्यालयको नेतृत्व प्राज्ञिक तथा विज्ञ व्यक्तित्वबाट हुने गरी कानुनी प्रबन्ध गर्ने निर्णय गरेकी थिइन् ।
त्यसका लागि अवधारणा पत्रको क्रममा तयारी रहेको रहेको छ । त्यस्तै सम्बन्धित कानुन संशोधनका लागि अध्ययन गर्न मन्त्रालयको उच्च शिक्षा महाशाखाका सहसचिवको नेतृत्वमा कार्यदल गठन गरेको छ । कार्यदलले दिने प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अघि बढ्ने उनको भनाइ छ ।