काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख नेताहरू राष्ट्रिय जागरण अभियानका क्रममा आ–आफ्नै क्षेत्रमा खटिने भएका छन् ।
पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानलाई प्रभावकारी बनाउन नेताहरू आफ्नो मतदाता नामावली र नागरिकता रहेको क्षेत्रमै पुगेर गतिविधिमा सहभागी हुने भएका हुन् ।
अभियानको सिलसिलामा कास्की पुगेका नेता देवेन्द्र पौडेलले पार्टीका सबै प्रमुख नेता आ–आफ्नो क्षेत्रमा खटिने जानकारी दिए । उनले भने, “सबै आ–आफ्नो क्षेत्रमा खटिँदै छौँ । जसको मतदाता, नागरिकता जहाँ छ, हामी त्यहीँ खट्ने कुरा छ ।”
नेताहरूलाई आ–आफ्नो क्षेत्रको जिम्मेवारी दिएर परिचालन गर्ने पार्टीको योजना रहेको उनको भनाइ छ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले कात्तिक ७ गते संयुक्त रूपमा अभियानको उद्घाटन गरेका थिए ।
मंसिर २५ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत पार्टीले देशभर संगठन विस्तार, जनसम्बन्ध र राजनीतिक गतिविधिलाई अघि बढाउने जनाएको छ ।