• जेष्ठ ५ २०८३, मंगलवार

न्याय परिषद्को बैठक बस्दै, १० जिल्ला न्यायाधीश नियुक्तिको तयारी

चैत्र २२ २०८०, बिहीबार

काठमाडौं । सर्वोच्च र उच्च अदालतमा केही पद रिक्त भए पनि न्याय परिषद्ले जिल्ला न्यायाधीशको नियुक्ति गर्ने तयारी गरेको छ । लोकसेवा आयोगको विज्ञापन बाहेकको कोटा विभाजन भएका १० सिटमा नियुक्तिका लागि सिफारिस गर्ने तयारी न्याय परिषद्ले गरेको हो ।

जिल्ला न्यायाधीशमा रिक्त रहेका कूल ५३ सिटमध्ये १० सिटमा आन्तरिक प्रक्रियाबाट न्यायाधीश नियुक्तिका लागि तयारी गरिएको छ । न्याय परिषद्का अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अब जिल्ला न्यायाधीश नियुक्तीमा ढिलाई गर्न नहुने भनेपछि न्याय परिषद्का निमित्त सचिव भद्रकाली पोखरेलले बिहीबारका लागि परिषद्को बैठक बोलाएका छन् ।

हाल जिल्ला न्यायाधीशमध्ये ५३ सिट खाली रहेका छन् । खाली रहेका ५३ सिटमध्ये ४३ सिट आन्तरिक र खुला प्रतिस्पर्धाका आधारमा छनोट गर्नका लागि लोकसेवा आयोगमार्फत् छनोट गर्नुपर्ने छ । त्यसका लागि समय लाग्ने भएकाले अहिले नै १० सिटमा सिफारिस गरी पूर्ति गर्ने तयारी प्रधानन्यायाधीश श्रेष्ठले गरेका हुन् ।