सल्यान । सल्यानका १० वटै पालिकामा समाजवादी मोर्चा नेपाल घोषणा गरिएको छ । मोर्चामा संलग्न सल्यानमा क्रियाशील पार्टीहरु नेपाल कम्युनिस्ट पार्टी, माओवादी केन्द्र र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सहित समाजवादी मोर्चा जिल्ला समन्वय समिति सल्यानको सक्रियतामा अभियानकै रुपमा पालिकाहरुमा मोर्चा घोषणा गरिएको हो ।
जिल्लामा गत फागुन १३ गते समाजवादी मोर्चा घोषणा गरिएको थियो भने मोर्चाको जिल्ला समन्वय समिति घोषणाकै दिन पालिकाहरुमा मोर्चा घोषणा हुने मिति घोषणा गरिएको थियो ।
गत फागुन २३ गते जिल्लाको कालिमाटी गाउँपालिकाबाट पालिकास्तरीय समाजवादी मोर्चा घोषणा गर्न सुरु गरेको सल्यानले चैत २ गते छत्रेश्वरी गाउँपालिकामा मोर्चा घोषणा गरेर जिल्लाका सबै पालिकामा मोर्चा घोषणा कार्य सम्पन्न गरेको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा उत्तर सल्यान जिल्ला इन्चार्ज भीमसेन सीले जानकारी दिए ।
कालिमाटी गाउँपालिकाबाट सुरु भएको पालिकास्तरीय मोर्चा घोषणा कार्यक्रम फागुन २४ गते त्रिवेणी गाउँपालिकामा, २५ गते कपुरकोट गाउँपालिकामा, २६ गते सिद्धकुमाख गाउँपालिकामा, २७ गते बागचौर नगरपालिकामा, २८ गते दार्मा गाउँपालिकामा, २९ गते कुमाख गाउँपालिकामा, ३० गते वनगाढ कुपिण्डे नगरपालिकामा सम्पन्न गरिएको थियो । त्यस्तै चैत १ गते जिल्ला सदरमुकाम समेत रहेको शारदा नगरपालिकामा समाजवादी मोर्चा नेपाल घोषणा भएको थियो ।
पालिकास्तरका सो मोर्चा घोषणा कार्यक्रमहरुमा नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य आधार सी, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री टेकबहादुर बस्नेत, मोर्चाका जिल्ला संयोजक तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृतिबहादुर पुन ‘प्रकाण्डसिंह’ नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अनिल सी, केन्द्रीय प्रतिनिधि समिति सदस्य भीमसेन सी, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय परिषद सदस्य तथा जिल्ला अध्यक्ष, समाजवादी मोर्चा सल्यानका सदस्य हरि केसी, जिल्ला सचिव तथा मोर्चाका जिल्ला सदस्य रमेशकुमार गौतम, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा उत्तर सल्यान जिल्ला सचिव तथा मोर्चाका जिल्ला सचिव मदन सी लगायतले सम्बोधन गरेका थिए ।